FLASH NEWS
  • Loading...

संसदमा कांग्रेस, एमाले र माओवादीको जुहारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– बल्ल–तल्ल तीन दलबीच सहमति भएपछि मंगलबार खुलेको संसदमा पहिलो चरणमा बसेको संसदको बैठकमा तीन ठूला दलका अध्यक्षहरुबीच निकै रोचक जुहारी चल्यो ।
पहिलो चरणको बैठकको शुरुमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलेका थिए त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोले अनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बालेका थिए । त्यस क्रममा उनीहरुले एक अर्कामाथि आरोप–प्रत्यारोप, घोचपेच र मुलुकमा भए गरेका सकारात्मक उपब्धिहरुमाथि आ–आफैँले जस लिने काम गरे ।
शुरुमा बोलेका ओलीले भरतपुरमा सत्ताको आडमा बलमिच्याई भएको अरोप लगाउँदै सरकारकै तर्फबाट मतपत्र च्यात्ने काम भएको आरोप लगाए । उनले भरतपुर मतगणना केन्द्रका प्रमुख निर्वाचन अधिकृतको आग्रह र पूर्वाग्रहका कारण घटनाले अर्कैतिर मोड लिएको पनि आरोप लगाए । मतपत्र च्यात्नका लागि त्यहाँ भित्रभित्रै ठूलै षड्यन्त्र भएको बताए । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले भरतपुरको घटनामा सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए । उनले घटना हुनुभन्दा चार–पाँच दिन पहिलेको कुरा सम्झे, ‘माओवादी केन्द्रका मेयर उम्मेदवार रेणु दाहाल, जो मेरी छोरी पनि हुन्, उनलाई भने तिमी हारेपनि जित्नेछौ, जितेछौ भने जितेछा,ै तिम्रो छवि अब राष्ट्रको छवि बनिसकेको छ । ढुक्क भएर बस्नु भन्ने सुझाव दिएको थिए । त्यसपछि मैले भरतपुरमा कसैसँग सम्पर्क गरेको थिइन् ।’
प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिँदै भने, ‘सरकारले भरतपुरमा भित्रै–भित्रै के–के खेल गरेको छ भन्नुस्, म सबै सुन्न तयार छु र जवाफ दिन तयार छु, भन्नलाई तपाईलाई केको लाज गर्नेलाई पो लाज हुने हो ।’
प्रधानमन्त्रीले भारतपुरमा जे भयो त्यो गलत भएको बताए । कानुन अनुसार गर्न आफूले आयोगका प्रतिनिधिलाई बोलाएर निर्देशन दिइसकेको अवस्थामा त्यतिकै विभिन्न लान्क्षना लगाउन नमिल्ने प्रधानमन्त्रीको भनाई थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भरतपुरमा मत च्यातेको बारेमा एमालेप्रति लक्षित गर्दै भने, ‘विगतमा पनि मतपत्र च्यात्ने कुरा भएको हो, त्यसबेला के–के भयो त्यतातिर बढी बोल्न चाहन्न, यो विषय सर्वोच्च अदालतमामा पुगिसकेको छ ।’
त्यस्तै अर्को प्रसंग एमालेका अध्यक्ष ओलीले प्रचण्डले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिएको प्रति लामो टिप्पणी गरे । उनले भने, ‘अहिले सरकारविहिनताको अवस्था छ । काम गर्न नसकेर हो कि दोस्रो चरणको चुनाव गराउन नसक्ने भनेर हो प्रधानमन्त्री पदबाट किन राजिनामा दिनुभयो ।’
ओलीले थपे, ‘सहयात्रीले काम गर्न नदिएको हो कि, कांग्रेस पार्टीले दवाव दिएको हो कि, उहाँलाई हतार भयो कि, अरु कसैलाई हतार भयो त्यो उहाँले जान्ने कुरा हो ।’ ओलीले बजेटपछि राजीनामा गरेको भएपनि हुने आफ्नो धारणा राखे । ‘बजेट १५ गते आयो, १६ गते राजीनामा दिँदा पनि हुन्थ्यो एक दिन अगाडि किन राजिनामा दिएको ?’
त्यसको जवाफ पनि प्रचण्डले उही तरिकाले दिए । ‘कांग्रेस र माओवादीबीच सरकार गठन गर्ने बेला भएको सहमति अनुसार चैतमा स्थानीय तहको चुनाव गराउने र बैशाखमा सरकार छाड्ने सहमति भएको थियो । तर, समयमा चुनाव गराउन नसकिएपछि राजीनामा केही तन्किएको हो । मैले कसैको दवावमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको होइन । आफ्नै विवेकले दिएको हु । म खुसी छु ।’
प्रचण्डले राजनीतिक संस्कार निर्माण गर्नका लागि सहमति अनुसार आफूले राजीनामा गरेको प्रचण्डले बताए । उनले भने, ‘देउवाले दुवै तहको चुनाव गराउन लचकताको साथ भन्नुभएको थियो । कांग्रेसले दवाव दिएर मैले राजिनामा दिएको होइन । यदि मैले दुवै चरणको चुनाव गरेर मात्र छाड्छु भनेको भएँ कांग्रेसले सहज ढंगले छाड्थे होला ।’
एमालेले चलाएको मेची महाकाली अभियानको क्रममा सप्तरीमा भएको घटनाको विषयमा पनि ओलीले सरकारको दोष रहेको बताए । उनले आफूहरुले कार्यक्रम सकाएर आउन लाग्दा सरकारले किन गोली चलाउन सर्वसाधारणलाई मारेको आरोप लगाए । उनले भने, ‘राजविराजमा कार्यक्रम सकिसक्दा किन गोली चल्यो ? मान्छे मार्ने परस्थिति कसरी बन्यो ? एमालेले नगोली चलाये न हुलदगां गर्यो । तर, एमालेको कारण सप्तरीको घटना भयो भनि आरोप लगाइयो ।’
एमालेलाई देखाएर सर्वसाधारणको टाउकोमा गोली हानेको भन्दै उनले भने, ‘विरोध गर्ने मधेशी मोर्चा, मार्ने सरकार, मर्ने सर्वसाधारण । अनि, चोखो बच्ने सरकार, कस्तो अच्चम ?’
ओलीले उठाएको विषयमा प्रचण्डको प्रतिक्रिया आएन । कांग्रेसका सभापति शेरबहादुर देउवाले जवाफ दिए । उनले एमालेको सभालाई सुरक्षा दिने क्रममा गोली चलेको बताए । तर एमालेले उल्टै प्रहरीले किन गोली चलाएका टिप्पणी गर्नु नसुहाएको देउवाको भनाइ थिय ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित