FLASH NEWS
  • Loading...

मतदाता शिक्षाबारे प्रतिवेदन पेस गर्न आयोगको निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—निर्वाचन आयोगले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतपत्रमा सहीरुपमा कसरी मत संकेत गर्ने भन्ने विषयलाई प्राथमिकता दिई मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ ।
पहिलो चरणको निर्वाचनमा मतदाताले मत कसरी हाल्ने भन्ने बारे जानकारी नभएका कारण धेरै बदर भएकोले अब दोस्रो चरणमा सो नहोस् भन्नको लागी मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्वाचन आयोगले उदेश्य लिएको छ । दोस्रो चरणको निर्वाचनको लागी मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक घरमा पुगेर आफूले दिएको शिक्षाबारे प्रतिवेदन पेस गर्न आयोगले खटाएको छ ।
सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर आयोगले मतदान हुन ३ दिनअघि असार ११, १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने स्थानमा सक्कली मतपत्र प्रदर्शनमा राख्ने व्यवस्था पनि गरिने छ ।
पहिलो चरणको निर्वाचनमा प्रारम्भिक आँकडाअनुसार २ देखि ३ प्रतिशतको हाराहारीमा मतपत्र बदर भएको अनुमान छ । सो बदर मत निकै धेरै भएको मानिएको छ । यस निर्वाचनमा पनि निर्वाचनसँग सम्बन्धित कानुनी व्यवस्था, मतदाता शिक्षाको कमी र ठूलो मतपत्रका कारण बदर मतको संख्या बढ्ने देखिएको छ ।
आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि पहिलो चरणमा प्रयोग भएका उपायका अतिरिक्त सांगीतिक र नाटकीय प्रस्तुतिका अतिरिक्त सडक नाटकको पनि आयोजना गरिने बताए । पहिलो चरणको निर्वाचनमा यथेष्ट समय नभएका कारण पनि मतदाता शिक्षा मतदाताको घरदैलो सम्म पुर्याउन सकिएको थिएन् ।
स्थानीय भाषाभाषीको सघनता भएका स्थानमा स्थानीय भाषामै मतदाता शिक्षासम्बन्धी सूचना, सन्देश र जानकारी दिने व्यवस्था मिलाइएको छ ।सामुदायिक संघसंस्था, गैरसरकारी संस्थासमेतलाई परिचालन गर्नेगरी संयुक्त राष्ट्रसंघीय प्रणालीसँग सहकार्य पनि गरिएको जानकारी सहसचिव ढकालले दिए ।
नमुना मतपत्रका माध्यमबाट नमुना मतदानका साथै पर्चा, पम्प्लेट, रेडियो, टेलिभिजन, पत्रपत्रिकाका माध्यमबाट पनि सघनरुपमा मतदाता शिक्षालाई अघि बढाउने बताउँदै सहसचिव ढकालले नागरिक समाजसँगको अन्तक्र्रिया र राजनीतिक दलसँगको संवादलाई पनि जोड दिइने बताए ।
दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५५७ मतदातालाई मताधिकार छ भने त्यसका लागि आयोगले ११ हजार ८३३ मतदान केन्द्रमा सामाजिक परिचालन, महिला स्वयंसेविका र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित