FLASH NEWS
  • Loading...

काठमाडौंका भूकम्पपीडितलाई काठ वितरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


काठमाडौं—ललितपुरस्थित बालकुमारी डिपोबाट द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले भूकम्पपीडितको घर निर्माणका लागि सहुलियत दरमा चिरान काठ उपलब्ध गराउने काम सुरु गरेको छ ।
‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ को परिच्छेद ५ को दफा ११ अनुसार काठ सहज रुपमा उपलब्ध गराई बिक्रीवितरण प्रक्रियालाई सहजीकरण तथा व्यवस्थापन गर्न समिति गठन गरी सो कार्य सुरु गरिएको हो ।
प्रतिघरपरिवारका लागि ५० क्युफिटसम्म चिरान काठ सहुलियत दरमा उपलब्ध गराउन सुरु गरेको द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले बताए ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने काठ व्यवस्थापन समितिमा स्थानीय विकास अधिकारी, जिल्ला वन अधिकृत, जिल्ला प्रहरी कार्यालयको प्रमुख, सामुदायिक वन उपभोक्ता महासं नेपालको प्रतिनिधि, टिम्बर कर्पोरेसनको अधिकृत प्रतिनिधि सदस्य र जिल्ला वन अधिकृतले तोकेको सहायक वन अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।
समितिले सम्बन्धित जिल्लाका भूकम्पपीडित परिवारलाई आवश्यक पर्ने काठको लगत तयार गरी वन विभागसँग काठ उपलब्ध गराउन अनुरोध गरेको महाप्रबन्धक लौडारीले बताए । विभागले समितिको अनुरोधमा टिम्बर कर्पोरेसन वा जिल्ला वन पैदावर आपूर्ति समितिसँग समन्वय गरी काठ प्राप्ति, चिरानी र ढुवानी कार्यको व्यवस्था मिलाउने गरेको छ ।
समितिले काठको डिपो स्थापना गर्न स्थानको छनोट, डिपो स्थापना र डिपोको सञ्चालन तथा सुरक्षाको व्यवस्था मिलाउनुका साथै उपलब्ध गराइएका काठको सहीरुपमा उपयोग भए÷ नभएका सम्बन्धमा समेत अनुगमन गर्नेछ ।
घर निर्माणका लागि काठ आवश्यकपर्ने भूकम्पपीडितले नागरिकता, भूकम्पपीडित परिचयपत्र, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग भएको सम्भौता, जग्गा धनी प्रमाण पुर्जा, घर निर्माणको नक्सा र इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
सिफारिस भई आएका भूकम्पपीडितलाई कर्पोरेसनको बिक्री डिपो बालकुमारीले अग्रिम रुपमा निवेदकलाई टेलिफोन सम्पर्क गरी चिरान काठ लिन आउने दिन, समय तथा अन्य आवश्यक जानकारी उपलब्ध गराउने गरेको जनाएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित