FLASH NEWS
  • Loading...

राजपासँग आज निर्णयक वार्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– तीन प्रमुख दल र मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच बुधबार निर्णयक वार्ता हुने भएको छ ।
मंगलबार बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले राजपासँग बुधबार अपराह्न ४ बजे निर्णयक वार्ता गर्ने निर्णय गरेको हो । जसका लागि राजपालाई जानकारी पनि दिइएको बताइन्छ ।
आगामी १४ असारका लागि तोकिएको सो निर्वाचनपूर्व संविधान संशोधनलगायत आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित राजपाले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका नेताबीच छलफल भएको हो ।
तीन दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित वाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् । बुधबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैठकमा उनले चुनाव सार्ने प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्पसमेत अघि सारेका छन् ।

बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सत्तापक्ष नै राजपाको माग सुन्न तयार नभएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान संशोधन पनि गोलमटोल भाषामा नहुने भन्दै संविधान संशोधनका जायज मागमा एमाले सधैँ तयार भएको बताए । राजपालाई सत्तापक्षले नै खेलाउने र आफ्ना लागि प्रयोग गरेको हो कि भन्ने आशंका लागेको भन्दै अध्यक्ष ओलीले भने, ‘चुनावपछि राजपाका जायज माग पूरा गर्न एमाले पनि तयार छ ।’
अध्यक्ष ओलीले सरकारले आफ्नो धारणा स्पष्ट भन्न नसक्ने र राजपाले पनि आफ्नो माग स्पष्ट रुपमा राख्न नसक्नुले झन् अन्योल उत्पन्न भएको बताएका छन् । उनले प्रश्न गरे, ‘उहाँहरुले चुनाव सार्न खोजेको हो कि नगराउन खोजेको ?’ उनले राजपाका नाममा सरकारले नै चुनाव पर सार्ने बहाना खोजिरहेको आरोप लगाए ।
त्यस्तै, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि राजपालाई चुनावमा ल्याउने बारेमा छलफल भएको बताएका छन् । उनले चुनाव नसारिकन यसैमा सहमति खोज्न सकिने पनि धारणा राखे ।

नेताहरुले बाहिर जे भने पनि तीन प्रमुख राजनीतिक दल स्थानीय तहको निर्वाचनमा राजपा सहभागी हुने लिखित प्रतिवद्धता भए निर्वाचनपछि संविधान संशोधन गर्न सकिने निष्कर्षमा पुगेको बताइएको छ । तर त्यसअघि राजपा निर्वाचनमा सहभागी हुनुपर्ने सर्त प्रमुख दलको छ । मंगलबार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकले बुधबार राजपाका शीर्ष नेतासँग निर्णायक वार्ता गर्ने निष्कर्ष निकाल्दै निर्वाचनमा आउने लिखित प्रतिवद्धता जनाए निर्वाचनपछि संविधान संशोधन गर्ने लिखित प्रतिवद्धता पनि जनाउने निर्णय गरेको सत्तापक्षका एक नेताले बताएका छन् ।
भित्र यस्तो सहमति भए पनि बाहिर भने प्रमुख विपक्षी नेकपा एमालेले फेरि चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्विकार गरेको बताएका छन् तर बैठकमा स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको सत्तारुढ गठबन्धनबाटै विरोध भएको बताइन्छ ।
बैठकमा सहभागी माओवादी नेता वर्षामान पुनले सञ्चारकर्मीहरुसँग बुधबार राजपासँग बस्ने बताएका छन् । उनले राजपा चुनावमा आउने लिखित प्रतिवद्धता आयो भने सहमति बन्न सक्ने बताए ।
त्यसपछि सरकारले पनि आवश्यक निर्णय लिने उनको भनाइ छ । ‘उहाँहरुले उठाएका विषय पूरा हुन निर्वाचनअघि सम्भव छैन, प्राविधिक समस्या अझै पनि केही छ भने सोच्न सकिन्छ ।’ उनका अनुसार बैठकमा सबै नेताले यहि विचार राखेका छन् । राजपाले चुनावमा आउने लिखित प्रतिवद्धता जनाए राजपाका एजेन्डामा छलफल गर्न तयार भएको सबै दलका नेताले प्रतिवद्धता जनाएका छन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित