FLASH NEWS
  • Loading...

मधेसमा चुनाव सार्ने सरकारको तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं–आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालसँग वार्ताको कुनै निष्कर्ष ननिस्के पछि सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय चुनाव सार्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा बुधबार प्रमुख तीन दल, राजपा र त्यसपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो । एमालेसहितको बैठकमा राजपालाई चुनावमा ल्याउनेबारे सामान्य छलफल भएपनि कुनै सहमति हुन सकेन । राजपा नेताहरुले आफूहरुको कुनै माग पुरा नभएको भन्दै यथास्थितिमा चुनावमा नजाने बताएका छन् ।

एमाले नेताहरुले भने असार १४ मै चुनाव हुनु पर्ने अडान राखेका छन् । साथै चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने बताए । घाइतेको उपचार खर्च लगायतका माग आपसमा बसेर पुरा गर्न सकिने एमाले नेताहरुले बताए पनि चुनाव सार्ने कुरा आफूहरुलाई स्वीकार्य नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी गराएका छन् ।
एमाले विना कांग्रेस, माओवादी र राजपा नेताहरुको बसेको बैठकमा भने राजपाका नेताहरुले प्रदेश नम्बर २ र ५ को चुनाव सार्नुपर्ने र आफ्ना राजनीतिक मागहरु पुरा गर्नुपर्ने माग राखेका थिए ।

सत्तारुढ कांग्रेस र माओवादीले भने प्रदेश नम्बर २ को चुनाव सार्न सकिने संकेत दिएका छन् । यसको लागी भोलि विहान ९ बजे निर्वाचन आयोगसँग छलफल गर्ने र १० बजे फेरि राजपासँग छलफल गर्ने तय भएको छ ।
तर, मिति सारे पनि राजपाले चुनावमा भाग लिने प्रतिवद्धता जनाउने छाँट देखाएका छैनन् । बैठकमा नारायणकाजी श्रेष्ठसहितका केही नेताले राजपा चुनावमा आउने लिखित प्रतिवद्धता जनाउनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजे बस्ने गरी टुङ्गिएको छ ।’
नेताहरुका अनुसार प्रदेश नम्बर २ को चुनाव सार्ने सम्भावना बढी छ । यसका साथै प्रदेश नम्बर ५ का केही जिल्ला नवलपरासी, रुपन्देही र कपिलबस्तुको पनि चुनाव दुई नम्बर प्रदेशसँगै गर्ने खतरा पनि छ । यो क्षेत्रमा असार १४ गते चुनाव नगरे कहिले गर्ने भन्ने कुनै टुंगो लागेको छैन ।

राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको बताए । तर, अहिलेसम्म चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने उनको चेतावनी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित