FLASH NEWS
  • Loading...

आज उम्मेदवारी मनोनयन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail


काठमाडौ– १४ असारमा हुने दोस्रो चरणका स्थानीय तह निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गर्ने भएको छ ।
आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि २ असार उम्मेदवारी मनोनयन गर्ने भए पनि सरकारको आग्रहमा आइतबारका लागि सारेको थियो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शनिबार ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आइतबारको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन उम्मेदवारहरुसँग अपिल गरे ।
उम्मेदवारी दर्ताका लागि आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने हुनाले मतदाता, राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत् र सरोकारवालालाई ढुक्क हुन भन्दै उनले निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचनमैत्री बनाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।
प्रमुख डा.यादवले राजनीतिक दलबाट जनताको अधिकारलाई सुनिश्चित गर्न, मताधिकारको सम्मान गर्न र आफूले रोजेको उम्मेदवारलाई छान्न पाउने मतदाताको सार्वभौम अधिकारलाई पूर्ण सम्मान गर्ने विश्वास व्यक्त गरे ।
मुलुकका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।
देशभर ४ हजार ५८१ मतदानस्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले पत्रकार सम्मेलननमा जनाएको छ ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, ०७३ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ ।
दलकातर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिएका छन् । उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा कसैले पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ ।
मतदाताको मतदान गर्न पाउने, उम्मेदवार भएर मतदाताबाट परीक्षण गर्ने र निर्वाचित जनप्रतिनिधिबाट सेवा लिन पाउने जनताको अधिकारको सबैबाट सम्मान हुने विश्वास पनि आयोगले लिएको छ ।
उम्मेदवारी दर्तास्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन र उम्मेदवारी दर्ता सहज, सरल एवम् सुरक्षित ढंगले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइसकिएको जनाइएको छ ।
आयोगले दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब आठ हजार ३५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको छ ।
पत्रकार सम्मेलनमा आयोगले आमसञ्चार माध्यममा स्थानीय भाषाहरुमा समेत मतदातासँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै नेपालमा बोलिने राष्ट्रभाषामध्ये १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयार गरिएको छ ।
दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकेको छ भने कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न आठवटा सहरमा निर्वाचन अवलोकनका व्यवस्था मिलाएका छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित