FLASH NEWS
  • Loading...

मौन समयमा एमालेले पत्रकार सम्मेलन गरी देउवालाई तानाशाहीको आरोप लगाए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई इराकका तानाशाही स्व.सद्दाम हुसेनसँग तुलना गरेका छन् ।
दोस्रो चरणको चुनावको मौन समयको अवधिमा प्रेस चौतारीले पार्टी मुख्यालयमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सरकारले हत्यारा र अपराधीलाई जेल सजाय दिनुको साटो फूलमालाले स्वागत गर्ने गरेको भन्दै प्रधानमन्त्री देउवालाई तानाशाहीसँग तुलना गरे ।
अध्यक्ष ओलीले बर्तमान गठबन्धन सरकार सद्दाम हुसेनको सरकारभन्दा कुनै पनि हिसाबले फरक नभएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दोस्रो चरणको चुनाव स्वतन्त्र र निष्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए ।
उनले पत्रकार सम्मेलनमा सरकारप्रति शंका गर्दै सरकारले नै सकेको ठाउँमा बम राखेको र नसकेको ठाउँमा राज्य आतंक मच्चाउने काम गरेको आरोप पनि लगाएका छन् । उनले धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम भेटिएको भन्दै यसबारे सरकारको धारणा मागेका छन् ।
दोलखा घटनामा अभियुक्त बनाइएकाहरुलाई ज्यानमारा भन्दै अध्यक्ष ओलीले ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र गरेको आरोप लगाए ।
उनले सरकारलाई धेरै उत्ताउलो नहुन चेतावनी दिए । ‘बझाङ, दोलखामा जे देखियो, त्यस प्रकारको नहोस्,’ उनले भने, ‘निर्वाचन निष्पक्ष गराउनुस् । हाम्रो संयमको सीमा हुन्छ, अचाक्ली नगर्न म चेतावनी दिन चाहन्छु ।’
बाजुरामा उम्मेदवारी दर्ताको दिन माथिबाट ढुंगा हानेर एमाले कार्यकर्ताको हत्या भएको भन्दै अध्यक्ष ओलीले केही सञ्चार माध्यमले झडप भनेको भन्दै आक्रोश पोखेका छन् । उनले भने, ‘झडप भनेको त्यस्तो हुन्छ ? आक्रमण भन्न सकिन्नँ । कि नेपाली शब्दकोषको प्रयोगको यही अवस्था हो ?’
उनले अन्यायमा परेकालाई न्याय दिनुको साटो जेलको बास बनाउने काम गरेर न्यायको घाँटी निमोठ्ने काम गरेको बताएका छन् । सरकार, नेपाली कांग्रेस, माओवादी केन्द्र र निर्वाचन आयोगका काम कारवाहीप्रति असन्तुष्टि जनाएका उनले अवको दुई दिनपछि हुने स्थानीय तहको निर्वाचन भयरहित बातवरणमा सम्पन्न गर्ने प्रमुख दायित्व सरकारको भएको भन्दै त्यसमा सरकारको ध्यान जान नसकेको हो कि भनेर प्रश्न गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित