FLASH NEWS
  • Loading...

व्यापारी राजकुमारसँगै ठेकेदार रणबहादुरको पनि हत्या भएको खुलासा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


दाङ–तुलसीपुर उपमहानरपालिका–५, का व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका भनिएका घोराहीका ठेकेदार रणबहादुर घर्तीमगरको पनि हत्या भएको रहस्य खुलेको छ ।
गत जेठ २६ गते व्यापारी श्रेष्ठसँगै ठेकेदार रणबहादुर पनि अपहरणमा परेका थिए । व्यापारी श्रेष्ठको हत्या गर्नु अघि नै अपहरणकारीको समूहले ठेकेदार रणबहादुरको हत्या गरेका थिए ।

प्रहरीले व्यापारी श्रेष्ठको अपहरण र त्यपछि भएको हत्याका मुख्य योजनाकार भनिएका तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय ‘निर्मल’ उर्फ टिकाराम घर्ती, उनकी छोरी पूजा र मानबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि ठेकेदार रणबहादुरको पनि हत्या भएको खुल्न आएको छ ।
प्रहरी उच्चस्रोतका अनुसार सोमबार राति बाँकेको भारतीय सिमानाबाट पक्राउ परेका घटनाका मुख्य योजनाकार टिकाराम घर्ती मगर र उनकी छोरी पूजाले व्यापारी श्रेष्ठको भन्दा पहिले ठेकेदार रणबहादुरको हत्या गरेको बयान दिएका छन् ।
प्रारम्भिक बयानका क्रममा मुख्य योजनाकार भनिएका टिकारामले रकम असुलीका लागि अपहरण गरेको स्वीकार गरेका छन् । टिकारामले आफूलाई ऋणले च्यापेपछि रकम असुली गर्ने योजनाका साथ व्यापारी श्रेष्ठको अपहरण गरेको बयान दिएका छन् । मुख्य योजनाकार भनिएका टिकाराम, उनकी छोरी पूजा र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनामा १४ जना संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेर हाल फरार रहेका अन्य सात जनाको खोजी भइसरहेको जनाएको छ । यसअघि प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर–१२ का २५ वर्षीय ‘कमल’ उर्फ अबिरल महतरा, दाङ घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जम्कोट १ घर भई हाल घोराही उपमहानगरपालिका–४, का ४० वर्षीय ‘रमेश’ ऊर्फ मनबहादुर पुनलाई पक्राउ गरेको थियो ।
गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शव असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले पुरिएको अवस्थामा व्यापारी प्रहरीले फेला पारेको थियो । व्यापारी श्रेष्ठसँगै हत्या गरिएका रणबहादुरको शव पनि सोही जंगलमा हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसँग थप बयान लिएपछि शव कहाँ छ भन्नेबारे पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले व्यापारी श्रेष्ठको अपहरणमा मुख्य योजनाकार टिकारामले आफ्नी २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरेको जनाएको थियो । भारतीय नम्बर प्लेटकै कारमा सवार रहेका घोराहीका ठेकेदार रणबहादुरलाई व्यापारी श्रेष्ठसँगै अपहरणकारीको टोलीले सल्यानबाटै अपहरण गरेको थियो।

तर, यसअघि पक्राउ परेका तुलसीपुर–१२ का २५ वर्षीय ‘कमल’ उर्फ अबिरल महतराले दिएको बयानका आधारमा प्रहरीले ठेकेदार रणबहादुर जेठ २८ नै जंगलबाट फर्किएको र पछि प्रहरीलाई घटनाबारे जानकारी नदिएकाले उनको पनि घटनामा संलग्नता रहेको हुनसक्ने आशंका गरेको थियो ।

कसरी पक्राउ परिन् युवती भारतबाट

व्यवसायी श्रेष्ठलाई ‘हनी ट्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता भएको भन्ने खुले पछि उनलाई प्रहरीले पछ्याइरहेका थिए । तर उनी फरार सूचिमा थिइन् । तर उनलाई प्रहरीले भारतबाट पक्रन सफल भएका छन् ।
उनलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको पनि हत्या भएको छ ।
तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।
घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित