FLASH NEWS
  • Loading...

एक÷दुई दिनमै मन्त्रिपरिषद् विस्तार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail

काठमाडौं– एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सरकार विस्तारमा विलम्ब भएको स्विकार्दै उनले अहिले अन्तिम छलफलमा जुटेको हुनाले एक दुई दिनभित्र नै मन्त्रिपरिषद् विस्तार हुने बताए ।
तर, बालुवाटार स्रोतका अनुसार भने सकेसम्म आइतबार मन्त्रिमण्डल विस्तार हुने छ । दलहरुबीच मन्त्रालय बाँडफाँड लगभग भएको भन्दै उनले मन्त्री क–कसलाई बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको बताएका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कारणले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको भए पनि अबको दुई दिनभित्रै सरकार विस्तार हुने बताएका हुन् ।
कार्यक्रममा लेखकले भने, ‘खासगरी मन्त्रालय बाँडफाँड गर्ने काम करिब–करिब सकिएको छ, मन्त्री क–कसलाई बनाउने भन्नेबारे पनि आज भोलिभित्रै टुंगो लाग्छ, अबको दुई दिनभित्रै सरकार विस्तार हुन्छ ।’
शीर्ष नेताहरु उपत्यका बाहिर भएकाले छलफल हुन नसकेको भन्दै उनले नेताहरु राजधानी फर्केपछि आइतबारभित्र सरकार विस्तार टुंग्याउने बताए ।
उनले सरकारमा सहभागी गराउन राप्रपा र संघीय समाजवादी फोरमसँग कुराकानी भइरहेको बताए । कांग्रेस नेता लेखकले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास दिलाएकाछन् । ‘राजपा निर्वाचनमा आउँछ, त्यही उद्देश्यले उहाँहरुले दल दर्ता गर्नु भएको हो,’ उनले भने, ‘निर्वाचन चिह्न पनि मागिरहनु भएको छ ।’
उनले एमालेले समर्थन नगर्दा संविधान संशोधनमा दुई तिहाईको सुनिश्चितता हुन नसकेको बताए । तर, संशोधन पास गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा र राजपालगायत दलहरु एकमत रहेको लेखकको भनाइ छ ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनअघि संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनबारे सोच्न सकिन्छ, अहिले नसोचे हुन्छ ।’
उनले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । उनले भने, ‘सांसदको संख्या बढाउने कुरा एमालेले कल्पनासमेत गर्न सक्दैन, सुन्न पनि तयार छैन, यदि कुरा आउँछ भने ठाडै अस्विकार गरिदिन्छौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित