FLASH NEWS
  • Loading...

नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रोपटक मिति थप

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

चितवन–निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ । जसका कारण यात्रुले अर्कावर्ष पनि सडकका कारण दुःख पाउने भएका छन् ।
सन् २०१५ को अप्रिलमा २ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी तीनवटा निर्माण कम्पनीलाई सो सडक ठेक्कामा दिइएको थियो । राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकताको सडक भनिए पनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि आगामी फेब्रुअरी २०१८ सम्म पुगेको छ । पहिलो खण्डको मिति १४ फेब्रुअरी र तेस्रो खण्डको २० फेब्रुअरीसम्म मिति थप गरिएको हो ।
दोस्रो बीचको सडकखण्ड निर्माणको जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको भने समय थप गरिएको छैन । अन्य दुई कम्पनीको भन्दा लामाको निर्माणमा प्रगति नदेखिएको भन्दै समय थप नगरेर दबाब दिएको भए पनि मिति थपको विकल्प नरहेको आयोजनाले जनाएको छ । असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गरेपछि दिनभर सवारी चापका कारण काम हुन सकेको छैन । निर्माण कम्पनीले यो समयको समेत मिति थप माग्ने भएकाले मिति लम्बिदै जाँदा आउँदो बर्सातसम्म पुग्न सक्ने देखिएको छ ।
आयोजनाका इञ्जिनियर खनालका अनुसार निर्माण कम्पनीले भूकम्पका समयमा काममा अवरोध पुगेको भन्दै आठ महिना मिति थप मागेका थिए । त्यतिबेला दुई महिना १५ दिन मात्रै मिति थप गरिएको थियो । असार ३ गतेसम्म ५१.८ प्रतिशत मात्रै काम भएको खनालले बताए ।
नारायणगढबाट २२ किमी मुग्लिनतर्फ घुमाउनेमा रातिमा हेलोजिन बत्ती बालेर भित्तो काट्ने काम भइरहेको छ । सो ठाउँमा दुई सय मिटर लामो र ४४ मिटर अग्लो भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने हुन्छ ।
त्यस्तै गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए ।
अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ ।
कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१÷७२ मा १२६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए ।
गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको चर्चा गर्दै उनले दुर्घटना बढ्नुको कारणबारे अनुसन्धान भइरहेको बताए । जसमा १५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ वटा अर्कोलाई उछिन्ने क्रममा, ४५ वटा तीव्र गतिका कारण, १२ वटा मादक पदार्थ सेवन गरी चलाएका कारण, दुईवटा यान्त्रिक गडबढीका कारण, चारवटा अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, पाँच सडकको अवस्थाका कारण र तीनवटा प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको पन्तले बताए ।
प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय कहालीलाग्दो गरी दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य भइरहेको बताए । प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने भन्दै उनले सरोकारवाला पक्षले पनि यसका लागि पहल गर्नुपर्ने सुझाव दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित