FLASH NEWS
- Loading...
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
- गोल्डेन खबर
- ७ साल अघि
- १०४ पटक पढिएको
दुवै पार्टीले मंगलबारसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् । जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिनुभएको छ । यस्तै रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता उनुभएको छ । मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउनुभएका सबैलाई मंगलबारसम्म फिर्ता लिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही साथीहरुलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने परेको हुन सक्छ, उहाँहरुलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा पार्टीले सोचेको छ । पार्टीको सिपाही भएका नाताले उहाँहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।”
पार्टी एकता र वामपन्थी दलहरुबीचको तालमेल गर्दा पार्टीका तर्फबाट दाबेदार रहेका तर उम्मेदवार हुन नपाएकालाई धैर्य र संयमित हुन एमालेले आग्रह गरेको छ । एमालेले आगामी दिनमा त्यस्ता नेता तथा कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय गर्नेसमेत बताएको छ । केही दिन पहिलेको स्थायी समितिको बैठकले पार्टीको आधिकारिक लाइनविपरीत नजान नेता तथा कार्यकर्तालाई आग्रह गरिसकेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही जिल्लामा समस्या रहे पनि मंगलबारसम्म एमालेका तर्फबाट बागी उम्मेदवारी दिएका सबैको फिर्ता हुने जानकारी दिनुभयो । उहाँले बझाङको समस्या समाधान भएको, बाग्लुङमा मिलाउने क्रम जारी रहेको र दोलखामा भने एमाले नेता लालकुमार केसीले नेकपा (माले)का तर्फबाट उम्मेदवारी दिएकाले फिर्ता गराउन केही गाह्रो भएको बताउनुभयो । नेता श्रेष्ठले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको स्थानमा माओवादी केन्द्रका तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।