FLASH NEWS
  • Loading...

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ४४ पटक पढिएको
राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ

राष्ट्रिय झन्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्‍न गायक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

राष्ट्रिय झन्‍डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्‍याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गायकसँगै ६ जना पनि पक्राउ परेका छन् ।

गीत बाहुन-क्षेत्री समुदायलाई गाली गरिएको र्‍यापको भिडियोमा राष्ट्रिय झन्‍डा जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छन् । चार मिनेट २७ सेकेन्ड लामो भिडियोमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर जलाइएको छ ।

विष्णु आधारभूत विद्यालय मकवानपुरमा खिचिएको भिडियो जातीय सद्‍भावविरुद्धका टेलिभिजन भाषणबाट सुरु गरिएको छ । बालबालिकादेखि युवासमेत भिडियोमा प्रयोग भएका छन् ।

र्‍यापको शीर्षक ‘देशद्रोही’ राखिएको छ । गीत युट्युबमा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कारबाहीका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

राष्ट्रिय गान, झन्‍डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झन्‍डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित