FLASH NEWS
  • Loading...

सम्पतिमा महिलाहरुको स्वामित्व बढ्दै

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८६ पटक पढिएको
सम्पतिमा महिलाहरुको स्वामित्व बढ्दै


काठमाडौं। रोल्पामा सम्पतिमा महिलाहरुको स्वामित्व बढ्दै गएको छ । जग्गा खरिद गर्दा महिलाको नाममा रजिष्ट्रेशन पास गर्ने क्रम बढ्दै जान थालेसँगै सम्पतिको मालिक बन्ने महिलाको संख्या पनि बढ्दै जान थालेको हो ।

वितेका तीन वर्षमा मालपोत कार्यालय रोल्पामा पारित भएका लिखतको तथ्यांकले पनि रोल्पाका महिलाहरुमा सम्पति माथिको पहुँच बढ्दै गएको देखाएको छ । सम्पति माथि महिलाको पहुँच शहरी क्षेत्रका महिलामा भन्दा ग्रामीण क्षेत्रका महिलामा बढी देखिन्छ ।

मालपोत कार्यालय रोल्पामा आर्थिक वर्ष २०७६ र ०७७ मा एक हजार ८२८ वटा लिखत पास भएका थिए । त्यसरी पारित भएका लिखतमध्ये ४६३ महिलाको नाममा पास भएका थिए । महिलाको नाममा रजिष्ट्रेशन गरिएका लिखत मध्ये १६५ शहरी क्षेत्रका र २९८ वटा ग्रामीण क्षेत्रका महिलाको नाममा पास भएका थिए । महिलाको नाममा रजिष्ट्रेशन पारित गर्दा आर्थिक वर्षमा ८ लाख ४४ हजार ७८१ रुपैयाँ राजश्व छुट भएको छ।

आर्थिक वर्ष २०७७ र ०७८ मा दुई ५२७ वटा लिखत पास हुँदा महिलाको नाममा पास भएका लिखतको संख्या ६२५ थियो । यो वर्ष शहरी क्षेत्रका १९९ र ग्रामीण क्षेत्रका ४२६ महिलाले आफ्नो नाममा लालपुर्जा पाएका थिए । यसरी महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा सो वर्ष १२ लाख २८ हजार १०२ रुपैयाँ राजश्व छुट भएको थियो ।

आर्थिक वर्ष २०७८र०७९ मा दुई हजार ६४५ वटा लिखत पास भएका थिए । पारित लिखत मध्ये ७५० लिखत महिलाको नाममा पास भएका थिए । महिलाको नाममा त्यसरी पारित भएका लिखत मध्ये १९५ वटा शहरी क्षेत्रका र ५५५ लिखत ग्रामीण क्षेत्रका थिए । महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा सो वर्ष १२ लाख २९ हजार ३७८ रुपैयाँ राजश्व छुट भएको थियो ।

रोल्पामा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या बढ्दै जान थालेको मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख डिल्लीराज न्यौपानेको भनाइ छ । ‘महिलाको नाममा लालपुर्जा कायम भएसँगै सम्पतिमा उनीहरुको पहुँच समेत बढेको छ’ न्यौपानेले भने ।

‘महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत राजश्व छुट गर्ने सरकारले नीति ल्याएसँगै महिलाको नाममा जग्गा पास गर्नेको संख्या वृद्धि हुन थालेको देखिन्छ,’ कार्यालय प्रमुख न्यौपानेले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित