- Loading...
इजरायलको थोपा सिंचाई प्रविधि नेपालमा
- गोल्डेन खबर
- ८ साल अघि
- २०१ पटक पढिएको

देशमा गरेर खान असहज हुँदै गएपछि २०६० सालमा आँखा चिम्लेर विदेश हान्निएका हेटौडाका श्रीकृष्ण अधिकारी अचेल कृषि पेशामा सक्रिय छन् । कामको लागि इजरायल पुगेका उनी त्यहाँ बालुवामा तरकारी उब्जनी गर्ने काममा लागे । माटो भन्दा बालुवा खुकुलो हुने हुँदा जरा स्वतन्त्र रुपमा बढ्न पाउने र थोपा सिंचाई प्रविधिबाट पानीको समान वितरण हुँदा तरकारी गजबको उत्पादन हुने रहेछ त्यहाँ ।
नेपालमा फालाफाल जमिन यत्तिकै बाँझिएको देखेका उनलाई बालुवामै तरकारी फलाएको कुरो मनन योग्य लाग्यो । ८ वर्ष इजरायल बस्दा उनले धन त कमाए नै तर त्यो भन्दा धेरै कमाए ज्ञान र सीप । ४ प्रतिशत मानिसले मात्रै कृषि पेशा गर्ने इजरायलले त्यसको उत्पादन देशमा खपत गरेर युरोप र अमेरिकामा समेत निर्यात गर्छ । त्यै कामको लागि नेपालीहरु पुग्छन् ।
माटो नै नभएको ठाउँमा ४५ डिग्री भन्दा बढि तापक्रममा बालुवामा तरकारी खेती फस्टाउनुमा प्रविधि, लगानी र व्यावसायीकरण सबै हुनुपर्ने उनले सिके । फलस्वरुप उनी २०६८ मा नेपाल फर्केसँगै इजरायलको थोपा सिंचाई प्रविधि नेपालमा सुरुवात गरे ।
उनले हाल थोपा सिंचाई प्रविधिलाई विस्तार गर्ने र जडान गरिदिने कामसँगै आफैले तरकारी खेती पनि गर्दै आएका छन् । थोपा सिंचाइमा पानीको स्रोतबाट पाईपको माध्यमबाट हरेक बोट सम्म पानी एकै समयमा समान रुपले सिंचाई गर्न सकिन्छ । यसका अलावा ठूलो टनेल बनाएर हरेक ड्याममा प्लाष्टिकले छोपिन्छ । ‘यसो गर्दा तरकारीको बिचमा झार उम्रन पाउन्न । बोटमा पानी राख्ने र झार गोड्ने जनशक्ती चाहिन्न’ ३३ वर्षे यी युवा भन्छन् ।
थोपा सिंचाई प्रणालीको विकास १९६० मा इजरायलबाट भएको हो । यस प्रणालीमा प्लाष्टिक पाईपबाट विरुवाको जरामा थोपा–थोपा गरेर पानीको आवश्यकता पुरा गरिन्छ । यसबाट विरुवाको निर्वाध वृद्धि विकास हुन्छ । त्यस्तै विरुवालाई आवश्यक मलखाद सिंचाईकै माध्यमबाट दिईन्छ । यसले मलखाद, सिंचाई र गोडमेलको झमेला हुन दिन्न ।
टनेल निर्माण सहित थोपा सिंचाई प्रविधि जडान गर्न प्रति हेक्टर जमिनमा १५ हजार रुपैंया लाग्छ । जसबाट ६–७ वर्ष सम्म काम चल्छ । इजरायलबाट फर्के पछि अधिकारीले तरकारी खेतीसँगै यो प्रविधिको विस्तार गर्ने क्रममा देशभरका ६०० भन्दा बढि कृषकलाई थोपा सिंचाई प्रविधि जडान गरिदिएका छन् ।
त्यसबाट कृषकको तरकारी उत्पादन भैरहेको छ भने विदेशमा गए सरह स्वदेशमै जिविकोपार्जन पनि भैरहेको छ । इजरायलमा मासिक करिव १ लाख रुपैंया तलबमा काम गरेर फर्केका उनी हाल बालाजु बाईपास नजिक घर बनाएर त्यसको आसपास थोपा सिंचाई प्रविधिबाट खेती र कृषकहरुको मागअनुसार थोपा सिंचाई प्रविधि जडान गरि इजरायलको सरह कमाई गरिरहेका छन् ।
‘आम्दानी भन्दा पनि थोपा सिंचाई प्रविधि विस्तार र इजरायलको सिकाई यहाँ उतार्न लागि परेको छु’ उनले हाकाहाकीसँग भने ‘१०–१५ रोपनी जग्गा लिएर व्यावसायीक रुपमा खेती गर्न आँट्नेले २०–२५ हजार रुपैंयाको लागि विदेश भौतारिईरहनु पर्दैन ।’