FLASH NEWS
  • Loading...

आँखा खोज्न बालुवाटार ताक्दै प्रचण्डका बडीगार्ड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९६ पटक पढिएको
Post Thumbnail

5

२ बजे उठ्छन्। मोटरसाइकलमा एउटा घन, ग्यास सिलिन्डर र कट्ठा राखेपछि उनीजत्तिकै ७० किलोका सहयोगी बस्छन्। त्यसपछि उनले मोटरसाइकल भुर्रर पार्छन्। कहिले पुग्छन् लमही त कहिले घोराही आसपासका गाउँ। दाङ सदरमुकाम घोराहीस्थित जलजला फ्रेस हाउसमा मासु बोकेर पुग्दा ‘मान्छे चिन्न सकिने’ उज्यालो हुन्छ। मासु बेच्दाबेच्दै पत्नीलाई छाडेर उनी सिस्नेखोला (झण्डै १० किलोमिटर टाढा) किनारको जलजला फार्ममा जान्छन्। त्यहीँ बंगुरसित लडीबडी गर्दागर्दै रातको ११ बज्छ।

६ वर्षयता कमरेड पारस उर्फ पूर्णप्रकाश घर्ती मगर र पत्नी कमरेड उर्मिलाको दिनचर्या यसरी हतारमै बित्छ।

‘रिक्सा गति’ मोटर साइकलमा सरेको तीन वर्ष मात्र भयो। गति बढेपछि ५० किलो मासु बेच्न रात कुर्ने पारस अहिले उज्यालोमै क्विन्टल बेच्छन्।

उनलाई लाग्न थालेको छ, मोटरसाइकलबिना उनको जीवन गति रुक्छ। अपसोच त यो भइदियो कि गतिसँगै उनको पेटसित गाँसिन आएको मोटरसाइकलसँग जोड्ने साइनो भने छैन। त्यै साइनाको तिर्सनाले उनी थला परेका छन्। तनमनसँगै भए पनि बिहेदर्ता नभएको घरबारजस्तो भएको छ, उनको र मोटरसाइकलबीचको सम्बन्ध।

के हो त्यो चिज?

लाइसेन्स।

मोटरसाइकल उनको आवश्यकता हुँदै बाध्यतामा पुगे पनि ‘बाध्यता’ र ‘कानुन’बीच चिनजान नहुँदा मर्कामा छन् उनी। फलस्वरुप चलाउने सीप हुँदाहुँदै पनि ‘जरुरी’ लाइसेन्स उनीसित छैन।

दाङ पुलिसले जिल्लाभर गुड्न भनेको छ। तर, कहिलेसम्म? केही दिनअघि मात्र पुलिसले लगेको ब्लुबुक फिर्ता पाएका छैनन्।

केही महिनाअघि लाइसेन्स लिने सबै प्रक्रिया पार गरे। तर, अन्तमा आँखामा गएर लाइसेन्स रोकियो।

‘आँखा खोज्न जाने भनेको छु,’ आँखाकै कारणले लाइसेन्स नपाएको कारण खुलाउँदै उनले भने, ‘मैले बायाँ आँखा गुमाएँ। बायाँ हात पनि घाइते भयो।’

कुनै दुर्घटनामा उनले आँखा गुमाएका होइनन्। उनले त माओवादी ‘जनयुद्ध’मा गुमाएका थिए। त्यो पनि डिएसपी ठूले राईलाई कब्जा गरेको रुकुमको महतको लडाइँमा। राई माओवादी नेता देव गुरुङसित साटिएर रिहा भएका थिए।

अहिले पारसको बायाँ आँखा प्लास्टिकको छ। नफेरेकै १३ वर्ष भयो। आँखाको आकार र रंग पनि फेरिएको छ।

‘आँखा माग्न सिएम प्रचन्नकहाँ जाने भनेको छु,’ प्रचण्डले भन्दिए पेटसित गाँसिएको गाँठो फुक्थ्यो कि भन्ने आशसहित पारसले भने।

बंगुरलाई दाना दिएर घाम ताप्दै थकाइ मारिरहेकी पत्नी उर्मिलाले ‘नहौसिन’ भनेर प्वाक्क थपिन्, ‘दिन्छन् अब!’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित