FLASH NEWS
  • Loading...

नयाँ शक्ति र फोरमको कार्यगत एकताबाट मधेसी मोर्चा सशंकित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail

6

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्ति नेपालसँग कार्यगत एकता गरेपछि मधेसी मोर्चा र संघीय गठबन्धनभित्र यसले असजिलो महसुस गराएको छ। मोर्चाका नेताहरुले नयाँ शक्ती र समाजवादी फोरमबीचको सान्निध्यतालाई मुखै खोलेर आलोचना नगरे पनि यसले मोर्चाको गति र शक्तिलाई प्रभावित पार्न सक्ने बताएका छन्।

संघीय गठबन्धन र मोर्चाले नउठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति माग नयाँ शक्तिसँगको सहकार्यसँगै उपेन्द्रले संविधान संशोधनको माग बनाएपछि यस्तो अवस्था आएको हो।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले प्रत्यक्ष निर्वाचित कार्यकारी  राष्ट्रपति  हुनुपर्छ भन्ने माग गठबन्धन र मोर्चा दुवैको नभएको बताए। नयाँ शक्तिसँगको कार्यगत एकताबाट मोर्चामा कस्तो असर पर्ला? भन्ने प्रश्नमा त्रिपाठीले त्यसको जवाफ आफूले दिन नसक्ने उल्लेख गरे। ‘म यति भन्छु कि, एउटा सार्वभौम पार्टीे अध्यक्षको हैसियतमा उपेन्द्रजीले अरु कुनै पनि पार्टीसँग सहकार्य र एकता गर्न सक्नु हुन्छ। त्यसको परिणाम मोर्चा र गठबन्धनमा देखिनु हुँदैन’ उनले भने, ‘अहिले नै मधेसी जनताले उठाएका मागबाट भागेर जाने आँट कसैसँग पनि छैन।’

यता राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले त्रिपाठीको भन्दा अलि फरक धारणा व्यक्त गर्दै फोरम र नयाँ शक्तिको सहकार्यको उदेश्य मोर्चासँग सम्बन्ध विच्छेद गर्ने ढंगले नै आए पनि तत्काल मोर्चामा यसको असर नपर्ने टिप्पणी गरे।

‘नयाँ शक्तिसँगको सहकार्यपछि उपेन्द्रजीले नयाँ–नयाँ माग थपेर संविधान संशोधन गरिनुपर्छ भन्न थाल्नु भएको छ। त्यसले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न असर त पारेकै छ’ सुमनले थपे, ‘एउटा पार्टीको भावी योजनाले मोर्चा र गठबन्धनले संशोधनका लागि उठाएका मागहरुमा असर पार्ने खालको हुनुहुँदैन।’

सोमबार तिनकुनेमा बसेको गठबन्धनको बैठकमा पनि मोर्चाका नेताहरुले नयाँ शक्ति र फोरमको सहकार्यको बारेमा चर्चा गरेका थिए। बैठकमा उठेका चासोबारे जवाफ दिंदै नेता यादवले गठबन्धन र मोर्चालाई कुनै असर नपार्ने बरु बलियो बनाउने तर्क गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जनाए।

मधेस विश्लेषक तुलानारायण साहका भनाइमा उपेन्द्र यादव पहाड र मधेस दुवैतिर संगठन भएको पार्टी अध्यक्ष भएको र तुलनात्मक रुपमा अरु मधेसी दलहरु भन्दा बलियो भएकोले साना दलसँग गठबन्धन गरेर शक्ति आर्जन गर्न लागेको प्रतिक्रिया दिएका छन्। ‘उपेन्द्रजीले मधेसी मोर्चामा रहंदा असजिलो ठानिरहेकै देखिन्थ्यो। हिजो साना मधेसी दलसँग सहकार्य गर्दा उहाँलाई पनि शक्तिमा आउन सजिलो भएको थियो। अब पनि मधेसी दलसँग सहकार्य गरेर स्पेस दिंदा चुनावमा साना दललाई फाइदा हुने भएकोले उहाँले अर्को बाटो लिन लाग्नु भएको हो। बाबुरामजीसँग सैद्धान्तिक कुरा मिलेपछि उहाँले नयाँ ढंगले शक्ति आर्जन गर्ने रणनीति बनाएको देखिन्छ, उनले भने, ‘उपेन्द्रजी मोर्चाबाट अलग हुने सम्भावना नै बढी छ। बाबुरामजीसँगको सहकार्यले भविष्यमा नयाँ सम्भावना बोकेको पार्टी बन्ने देखिन्छ।’

साहले उपेन्द्रमा बलियो आत्मविश्वास भएकोले उनको यो निर्णयले फोरमलाई बलियो बनाउने तर्क गरे।

उपेन्द्र यादवसँग निकट रहेर लामो समय फोरममा काम गरेका तर अहिले तपलोपाको केन्द्रीय सदस्य विपी यादवले भने समाजवादी फोरम देखावटी रुपमा मात्र मोर्चासँग रहेको दाबी गरे। मधेस आन्दोलनका क्रममा सहिद भएका राजीव राउतको श्रद्धान्जली सभामा नै मधेसी मोर्चा र संघीय गठबन्धन(उपेन्द्र)ले केही समय अघि सप्तरीको भारदहमा अलग–अलग मञ्च बनाएर कार्यक्रम गरेको यादवले रहस्य खुलाए।

‘बाहिर जनताको डरले मात्र मोर्चासँगै रहेको उपेन्द्रजीले भन्नु गर्नुभएको हो। वास्तवमा त उहाँ अलग नै हुनुहुन्थ्यो’, विपीले टिप्पणी गर्दै भने, उपेन्द्रजीले चुनावमा मधेसी मोर्चासँग पार्टी एकता वा कार्यगत एकता पनि गर्नु हुन्न।’

नयाँ शक्ति, नेपालले भने यसअघि नै आफ्नो केन्द्रीय परिषद बैठकबाट गठबन्धनले जारी गरेको २६ बुँदे मागलाई समर्थन गरिसकेको थियो। तर सोमबार मोर्चा र गठबन्धनका अरु दलभन्दा बेग्लै नयाँ शक्तिले फोरमसँग मात्रै वक्तव्यमा हस्ताक्षर गरेको छ।

यादवले संविधानसभाको दोस्रो निर्वाचनपछि मधेसकेन्द्रित आफ्नो दललाई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर राष्ट्रिय पहिचानको दलका रुपमा परिचय दिन पहल गरेका थिए। अहिले नयाँ शक्तिसँगको सहकार्य र निकटतालाई यादवको नयाँ फड्कोका रुपमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित