FLASH NEWS
  • Loading...

उपेन्द्र यादवको तेस्रो पाइलाः नयाँ शक्तिसँगको मोर्चा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

8

नयाँ शक्ति नेपाल, पार्टी र संघीय समाजवादी फोरमबीचको निकटतासँगै नेता उपेन्द्र यादवले तेस्रो पाइला चालेको विश्लेषण हुन थालेको छ। संविधान संशोधन प्रमुख माग राखेको मधेसी मोर्चाभन्दा बेग्लै यादवले सोमबार नयाँ शक्तिका प्रमुख डा. बाबुराम भट्टराईसँग संयुक्त हस्ताक्षर गरेर वक्तव्य जारी गरेका थिए।

अहिले नयाँ शक्तिसँगको सहकार्य र निकटतालाई यादवको नयाँ फड्कोका रुपमा लिइएको छ

यादव संघीय समाजवादी फोरमका अध्यक्ष मात्रै होइनन्, विभिन्न दल र समूहसहतिको संघीय गठबन्धन र मधेसी दलहरूको मोर्चाका समेत संयोजक हुन्। एउटै मोर्चा र गठबन्धनमा भए पनि उनले संविधान संशोधनलगायतका विषयमा मधेसी मोर्चाआबद्ध अन्य दलहरूभन्दा कडा अडान राख्दै आएका थिए।

सोमबार डा. भट्टराईसँगै जारी संयुक्त वक्तव्यमा पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायत मागहरूलाई थप गरेर संविधान संशोधनले त्यसलाई सम्बोधन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।

पूर्व राजदूत तथा विश्लेषक विजकान्त कर्ण भन्छन्, ‘उपेन्द्रजीलाई मोर्चाको माग मात्र बोकेर हिंड्न असजिलो छ। उहाँसँग जनजाति समुदाय पनि छन्। उहाँलाई मधेस र मधेसी मोर्चाको मात्रै अडानमा बस्न कठिन छ।’

कर्णले यादवको नयाँ शक्तिसँगको नयाँ कदमलाई तेस्रो धारा समातेको भनी व्याख्या गरे। उनले भने, ‘उपेन्द्रजी मधेस र जनजातिका दुई धारमा पहिले पनि हिंड्नु भएकै थियो, अब बाबुरामजीसँग पनि सहकार्य गरेपछि उहाँले तेस्रो धार पनि समाउन पुग्नु भएको छ।’

संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता नहुनु र उपेन्द्र–बाबुराम मोर्चाबन्दी हुनुलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका मोर्चाका नेताहरूले भने प्रधानमन्त्री दाहालसँग भएको एक्लाएक्लै भेटवार्तामा प्रस्ताव चाँडो दर्ता गर्न आग्रह गर्ने गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

नयाँ शक्ति नेपाल, पार्टीले भने यसअघि नै आफ्नो केन्द्रीय परिषद बैठकबाट गठबन्धनले जारी गरेको २६ बुँदे मागलाई समर्थन गरिसकेको थियो। तर सोमबार मोर्चा र गठबन्धनका अरु दलभन्दा बेग्लै नयाँ शक्तिले फोरमसँग मात्रै वक्तव्यमा हस्ताक्षर गरेको छ।

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधनका लागि नै फोरमसँग सहकार्य थालिएको बताए। ‘प्रधानमन्त्रीले ल्याउनु भएको संशोधनको प्रस्ताव पूर्ण छैन। त्यसलाई सर्वस्वीकार्य हुने गरी ल्याउन हाम्रो सहकार्यले मद्दत पुग्छ, उनले भने, ‘हाम्रा मागहरूमा समानता भएकोले चुनाव अगाडिसम्म पार्टी एकता हुन पनि सक्छ।’

देवकोटाका अनुसार प्रधानमन्त्रीले अब ल्याउने प्रस्तावमा विमति भएपनि थप संशोधन गरेर जान सकिने भएकोले नयाँ शक्तिले निर्वाचन चाँडो होस भन्ने चाहेको दाबी गरे।

कर्णले भने अहिले प्रधानमन्त्रीले ल्याएको प्रस्तावले थोरै भएपनि मधेसका माग पूरा गर्न लागेकोमा नयाँ शक्ति र फोरमको निकटताले त्यो पनि टरेर जाने सम्भावना रहेको बताए। उनले भने, ‘अबको स्थितिमा उपेन्द्रको नेतृत्वमा मोर्चा र गठबन्धन सँगै जाने सम्भावना कमजोर हुन्छ भन्ने तर्कमा दम छ।’

यादवले संविधानसभाको दोस्रो निर्वाचनपछि मधेसकेन्द्रित आफ्नो दललाई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर राष्ट्रिय पहिचानको दलका रुपमा परिचय दिन पहल गरेका थिए। अहिले नयाँ शक्तिसँगको सहकार्य र निकटतालाई यादवको नयाँ फड्कोका रुपमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित