FLASH NEWS
  • Loading...

स्ववियु निर्वाचनको लागी विद्यार्थी संगठन तयार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

काठमाडौं—विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन यसपाली जसरी भए पनि गराउनु पर्नेमा जोड दिईएको छ ।
आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताईएको छ ।
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले शनिबार आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा उनीहरुले सो धारणा सार्वजनिक गरेका छन् । त्रिविका खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियु निर्वाचन गर्न त्रिवि तयार रहेको भन्दै निर्वाचनको आवश्यक तयारीका लागि जुटिसकेको बताए । उनले त्रिवि स्ववियु निर्वाचनसम्बन्धि नियम विनियम, निर्देशिका र आचारसहिंता बनाउने काममा जुटिरहेको बताए ।
कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले त्रिवि स्ववियु निर्वाचन गर्न सदैव तयार रहेकोले विद्यार्थी नेतृत्व तयार देखिनुपर्ने बताए । ‘हिजो पनि त्रिवि स्ववियु निर्वाचन गर्न तयार थियो । आज पनि छ’ उनले भने ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी स्ववियु निर्वाचनका लागि आफ्नो संगठनले पनि तयारी थालेको बताए । उनले आफ्नो संगठनले निर्वाचनका मापदण्डका बारेमा केही विमति राखेपनि चुनावमा जाने स्पष्ट पारे । ‘२८ वर्षको उमेर हदबन्दीका कारणले चुनाव रोकिदैन’–उनले भने, ‘हामी चुनावभन्दा बाहिर जान सक्दैनौ । स्ववियुको अस्तित्वका लागि चुनावमा सहभागी हुन्छौ ।’

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले आफ्नो संगठनको जित र हारको मतलब नै नगरीकन निर्वाचन गराउनु एकमात्र एजेन्डा रहेको बताईन् । उनले सबै संगठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिईन् ।
अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष गंगा तिमिल्सेनाले आफ्नो संगठन हरेक निर्वाचनमा सहभागी हुदै आएको भन्दै आठ वर्षदेखि हुन नसकेको निर्वाचनका लागि यसपटक गर्न आफ्नो संगठन तयार रहेको बताए ।
तराई–मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष यादवले कुनै परिस्थितिमा पनि आगामी स्ववियू निर्वाचन सबैले मिलेर गराउनुपर्ने विचार व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित