FLASH NEWS
  • Loading...

धम्कीले अन्तर्राष्ट्रिय ‘सेल्स मिसन’ प्रभावित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

होटल संघ नेपाल (हान) ले मजदुर संठनको दबाबले १० प्रतिशत सेवा शुल्कको विषय विवादित बनेको जनाएको छ । सम्झौता विपरित मजदुर संघठनले अल्टिमेटमसहित सबै रकम पाउनुपर्ने पाँचबुँदे दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै हानले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मजदुर संगठन र व्यवसायीबीच सुमधुर सम्बन्धका साथ गुणस्तरीय सेवा उपलब्ध गराउने सर्तमा १० वर्षअघि पाँच वटा ट्रेड युनियन र हानबीच सम्झौता भएको थियो । उक्त सम्झौताअनुरुप होटल रेस्टुराँबाट उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क मजदुरलाई ६८ र होटललाई ३२ प्रतिशत बाँड्ने व्यवस्था थियो ।

अहिले उक्त रकम सबै मजदुरलाई उपलब्ध गराइनुपर्ने मजदुर संगठनको माग राखेकाले सम्झौतामाथि प्रश्न उठेको हानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पर्यटनले सुधारोन्मुख गति लिने अपेक्षा गरिएको समयमा ट्रेड युनियनको माग अल्टिमेटम अर्को धक्काको रुपमा आउनु दुःखद् भएको हानले जनाएको छ ।
साथै, नेपालमा बढी पर्यटक भित्र्याउने उद्देश्यले आगामी फेब्रुअरी ९ देखि १५ सम्म दक्षिण भारतका मुख्य सहरमा आयोजना गर्ने गरी तय गरेको ‘बृहत् सेल्स मिसन’ कार्यक्रम ट्रेड युनियनको धम्कीपूर्ण आन्दोलनका कारणले बाध्य भएर स्थगन गर्नुपरेको हानले जनाएको छ । हाल मजदुर संगठनबाट सार्वजनिक भएका दबाबमूलक कार्यक्रमले ग्राहक असुरक्षित महसुस गरी बुकिङ रद्द गर्ने र आगामी दिनमा होटल व्यवसाय धरासायी बन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
हानका अध्यक्ष अमरमान शाक्यले अन्तर्राष्ट्रिय जगत्मा पनि सेवा शुल्क विवादित बनेको र नेपालका ग्राहकले महँगो भन्दै असन्तुष्टि प्रकट गरिरहेको सन्दर्भमा १० प्रतिशत शुल्क सबै आफूले पाउनुपर्ने मजदुरको मागले व्यवसाय सञ्चालनमै कठिनाइ हुने बताए ।
हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले मजदुर र होटलबीचको सम्बन्ध सुधार गरी गुणस्तरीय सेवाका लागि सेवा शुल्कको सामूहिक सौदाबाजीको व्यवस्था गरिए यसबाट ग्राहक र मजदुर दुबै खुसी नभएकाले यसको औचित्यमाथि प्रश्न उब्जिएको बताए ।
मजदुरको मागले हालको औद्योगिक सम्बन्ध र वातावरण बिग्रिने र उपरोक्त सम्झौतालाई एकतर्फी रुपमा पालना गर्न नसकिने व्यहोरा प्रधानमन्त्रीसहित सम्बन्ध निकायलाई जानकारी गराइएको हानले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटन होटल सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिले गत माघ ६ गते पाँचबुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित