FLASH NEWS
  • Loading...

आइएसलाई परास्त गर्न ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषय वस्तुहरु उपर घण्टौँ लामो टेलिफोन वार्ता भएको छ ।
दुबै देशका राष्ट्र प्रमुखबीच भएको सो वार्ताका धेरै विषयबस्तुमध्ये प्रमुख दुइवटा एजेण्डा–पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलेदेखि नै रुसमाथि लगाएका विभिन्न खाले प्रतिबन्धका भबिष्यबारे प्रश्न र आतंककारी इस्लामिक स्टेट (आइएस) समूहलाई परास्त गर्न दुबै देशबीच सैनिक सहयोग प्रवद्र्धन गर्ने मार्गलगायतका विषयमा छलफल भएको थियो ।
ह्वाइट हाउसले दुई समकक्षीबीच गहिरो वार्ता भएको औपचारिक पुष्टि गरेता पनि कुन कुन विषयमा वार्ता भए भन्ने विस्तृत खुलासा गरेको छैन ।
मर्मत, सुधारको आवश्यकता परेको अमेरिका–रुसबीचको सम्बन्धमा सो वार्ताले महत्वपूर्ण सुरुवात गरेको भन्दै ह्वाइट हाउसले यस बारे एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।
दुई उच्चस्तरीय नेताबीच चलेको सो वार्तामा दुबै देशको संयुक्त दुश्मनको रुपमा खडा रहेको आइएस सशस्त्र आतंककारी समूहलाई निष्प्रभावी र परास्त गरी सिरियासहित सम्पूर्ण विश्वमा स्थायी शान्तिको उपलव्धिका लागि द्विपक्षीय सैनिक सहयोगलगायत अन्य श्रृखंलावद्ध बिषय छलफल भएको जनाइएको छ ।
वार्ताका क्रममा दुबै राष्ट्रपतिले यस मामिलामा आतंकबाद विरुद्धको युद्धमा गठबन्धनका साझेदार (कोएलिसन पार्टनर)का रुपमा सहकार्य गर्ने समझदारी गरेको बताइन्छ ।
यता, रुसी राष्ट्रपतिको कार्यालय–क्रेमलिनले भने ह्वाइट हाउसबाट प्रकाशित विज्ञप्तिको विपरित रुस र अमेरिकाबीच मन्द मन्द गतिमा चलिरहेको व्यापार, बाणिज्य र आर्थिक गतिविधिमा सुधार र प्रबद्र्धन एवं दुबै देशका ब्यापारिक वृत्तमा सशक्तिकरण सम्बन्धमा वार्ता भएको जनाएको छ ।
यस अतिरिक्त, आतंकबाद विरुद्धको युद्धमा दुबै देशको सहकार्य, अरब–इजरायलबीचको मनमुटाव र आपसी द्वन्द्व, इरानको आणविक हात हतियार उत्पादन तथा भण्डारण योजना, कोरियाली प्रायद्वीपको आपसी झै–झगडा, युक्रेनको संकटजस्ता अन्तरराष्ट्रिय मामिलाका जल्दाबल्दा बिषयमा दुई उच्चस्तरीय नेताहरुबीच छलफल भएको भनी क्रेमलिनले जनाएको छ ।
यसैबिच, तीन देशका नेतासँग अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बार्ता गर्ने भएका छन् । ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन वार्ता गर्ने भएका हुन ।केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग उनले कुराकानी गर्न लागेको बताइएको छ ।
यस्तै, ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गरेको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले निकालेको विज्ञप्तीमा उनी सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ ।

आप्रवासीलाई नखेद्न अदालतको आदेश
अमेरिकामा रहेका मुस्लिम शरणार्थीहरुलाई खेद्न खोज्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनमा अदालतले रोक लगाइदिएको छ ।
द अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले ट्रम्पको आदेशविरुद्ध अदालतमा दायर गरेको रिटमा पहिलो चरणको सुनुवाईपछि अदालतले यस्तो आदेश दिएको हो ।
ट्रम्पको आदेशका कारण समातिएका मुस्लिम शरणार्थीहरुलाई निर्वासत गर्न नमिल्ने भएको बीबीसीमा उल्लेख छ । यसैविच, ट्रम्पको आदेशपछि मानव अधिकारवादीहरुका अनुसार विमानस्थललगायतका क्षेत्रबाट १ सयदेखि २ सय जनालाई नियन्त्रणमा लिइएको छ । अदालतले ट्रम्पको निर्देशनपछि हिरासतमा लिइएका सम्पूर्ण व्यक्तिको सूची उपलब्ध गराउन सरकारलाई आदेश पनि दिएको छ । यसमाथि आगामी सुनुवाई फेब्रुअरीको अन्त्यमा हुनेछ ।

आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने
ओट्टावा– आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताए ।
ट्विटरमार्फत् उनले भने, ‘जसले हिंसा, आतंक र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चाहन्छ ।’ त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारे ।
‘विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,’ उनले ट्विटमा लेखेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेखेका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित