FLASH NEWS
  • Loading...

सुनसरीमा केराखेती घट्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


इनरुवा, १८ फागुन । सुनसरी बबिया गाविस– ८ का राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको थियो । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उहाँ निराश हुनुभएको छ ।

केराखेतीमा उत्पादन लागत बढेको, मूल्य तथा बजार निरन्तररुपमा ओरालो लागेका कारण २० बिघा क्षेत्रफलबाट उहाँ पाँच बिगाहा केराखेती घटाउन बाध्य हुनुभयो । उहाँले सुरुमा प्रति बिगाहा रु एक लाख लगानी गर्दा रु तीन लाखसम्मको आम्दानी भएकोमा अहिले आएर केराखेतीमा प्रति बिगाहा रु दुई लाखसम्म लगानी गर्दा पनि रु एक लाखसम्म पनि आम्दानी हुन नसकेका कारण केराखेती घटाएको बताउनुहुन्छ ।

मेहता जस्तै सदरमुकाम इनरुवा– ६ का विनोद महेता अहिले भाडामा जग्गा लिएर २० बिगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको छ । तर अहिलेकै अवस्थामा भारतीय बजारबाट केरा नेपाल भित्रियो भने आफू केराखेती गर्न छोडेर अर्को पेसा अङगाल्ने उहाँको भनाइ छ । भारतीय केरा नेपाली केराभन्दा सस्तो हुने गरेको र उनीहरुले बेच्ने गरेको मूल्यमा आफूहरु केरा बेच्दा लागत समेत नआउने भएका कारण आफू अन्य पेसाको खोजीमा रहेको बताउनुहुन्छ ।

बबियाका केरा कृषक बलराम मेहताले समेत २०७० सालमा १० बिगाहा क्षेत्रफलमा केराखेती गर्नुभएको थियो । तर अहिले उहाँले पाँच बिगाहा क्षेत्रफलमा केराखेतीलाई सीमित गर्नुभएको छ । किसानले समयमा मल नपाउनु, मजदुर अभाव हुनु, सिँचाइ असुविधा तथा उत्पादन गरेको केराले बजार र लागत मूल्य नपाउँदा उहाँले केराखेती घटाउँदै लैजानुभएको छ ।

जिल्लामा ६५० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आएको छ । किसानले बर्सेनि केराखेती घटाउँदै लगेका छन् । विगत वर्षमा एक सय केरा रु चारसयमा बिक्री हुँदैआएकामा अहिले रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।

भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका किसान मारमा परेका छन् । भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा केराखेती घटाउन नेपाली किसान बाध्य भएका हुन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित