FLASH NEWS
  • Loading...

एमालेको मेची–महाकाली अभियान स्थगित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


सप्तरी–सप्तरीको राजविराजमा सोमबार प्रहरीको गोलीबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको निधन भएपछि एमालेले मेची–महाकाली अभियान अचानक स्थगन गरेको छ ।
रूपनीमा सोमबार साँझ बसेको स्थायी समितिको आकस्मिक बैठकले अभियान तीन दिन स्थगन गर्ने निर्णय गरेको हो । हिंसात्मक मुठभेड गराउने षड्यन्त्रको आभास मिलेको, सरकारले पनि कार्यक्रम स्थगित गर्न अनुरोध गरेको र ज्यानै जाने दुःखद् घटना भएकाले स्थितिको संवेदनशीलतालाई विचार गरी अभियान स्थगित गर्ने निर्णय गरेको जानकारी प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएका छन् ।
फागुन २४, २५ र २६ गते तीन दिनका लागि अभियान कार्यक्रम स्थगित गरिएको छ । फागुन २७ गतेदेखि मेची–महाकाली राष्ट्रिय अभियान फेरि सञ्चालन हुनेछ ।
‘मेची–महाकाली राष्ट्रिय अभियान अत्यन्त भव्य, प्रभावकारी एवं शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र लाखौं जनता उत्साहपूर्वक सहभागी भइरहेकोमा राजविराजमा भएको घटनाबाट पार्टी दुःखी भएको छ’, विज्ञप्तिमा प्रकाशित गरि भनिएको छ । आफ्नो शान्तिपूर्ण अभियानलाई रोक्न मोर्चा कार्यकर्ताले अराजक र हिंसात्मक गतिविधि गरेको एमालेले जनाएको छ ।
‘संविधानप्रदत्त अधिकार प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमालेलाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थलनजिकै विस्फोटक पदार्थ राख्ने र संयमपूर्वक कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गर्ने काम निन्दनीय छ’, विज्ञप्तिमा उल्लेख छ, ‘मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधि प्रदर्शन गरेका छन् ।’
मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको भन्दै एमालेले सप्तरी घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र विध्वंसात्मक गतिविधिलाई पुष्टि गरेको जनाएको छ ।
अभियान स्थगित भएपछि शीर्ष नेताहरू इटहरीतर्फ लागेका छन् । गत शनिबार झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान सोमबार राजविराज आइपुग्दा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । एमालेले आयोजना गरेको सभास्थलमा मोर्चा कार्यकर्ताले ढुंगामुढा गरेपछि त्यसलाई रोक्न खोज्दा प्रहरीले गोली चलाएको थियो । एमालेले चैत ४ गते सुर्खेतमा अभियान समापन गर्ने कार्यक्रम तय गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित