FLASH NEWS
  • Loading...

संघीय मोडलमा आगामी वर्षको बजेट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सरकारले आगामी वर्षको बजेट संघीय मोडलमा ल्याउने भएको छ । सोमबार आगामी आवको बजेट विनियोजनाका विषयमा अर्थ मन्त्रालयमा भएको बैठकलाई सम्बोधन गर्दै सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक ०७४÷७५ को बजेट संघीय मोडलमा ल्याउने तयारी भैइरहेको बताएका हुन् ।
उनले मुलुक संघीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोही मोडलमा ल्याउने तयारी भएको बताए । अर्थ मन्त्री महराले भने,‘निर्वाचनको मिति घोषणा भइसकेको छ, स्थानीय निकाय पनि सरकारले तोकेको छ, यो अवस्थामा आगामी आर्थिक वर्षको बजेट स्थानीय निकायसँग जोडएर आउँछ, यो संघीयता कार्यान्वयनका लागि पहिलो चरण हुनेछ ।’
आगामी आर्थिक वर्षको बजेटमा नयाँपन दिने उल्लेख गर्दै उनले विगतमा जस्तो मनोगत रुपमा कार्यान्वन नै नहुने बजेट बनाउने भन्दा पनि वास्तविकतामा आधारित बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
अर्थमन्त्री महराले भने, ‘विगतमा पुँजीगत खर्च भएन, त्यसले आर्थिक क्रियाकलापलाई अगाडि बढाउन सकेन, नयाँ योजनाका लागि बाटो खुलेन, अब त्यस्तो बजेट ल्याउन हुन्न ।’ उनले स्थानीय स्रोत साधन परिचालन नभएसम्म समाजबाद उन्मुख कार्यक्रम हुन नसक्ने भन्दै आगामी दिनमा जनताले अनुभूति हुने गरी कार्यक्रम बनाउने बताए ।
आगामी आर्थिक वर्षमा संविधानले तोकेअनुसार बजेट जारी भएपछि योजना बनाउने कार्य अन्त्य हुने उल्लेख गर्दै अर्थ मन्त्री महराले भने, ‘आगामी आवदेखि जेट १५ पछि योजना आयोग र अर्थ मन्त्रालय धाउन बन्द गर्नुहोस् ।’ उनले निर्वाचन हु“दैन भन्ने कुनै आशंका नगर्न पनि सचिवलाई सुझाव दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले परम्परागत रुपमा ल्याइने कार्यक्रमको ढाँचामा परिवर्तन गर्न निर्देशन दिँदै सहकार्य गरेर आवश्यकतालाई ध्यान दिएर योजना अगाडि बढाउनपर्नेमा जोड दिए ।
हचुवाका भरमा योजना र बजेट बनाउने भन्दा पनि कार्यान्वनको आधार तय गर्नुपर्नेमा जोड दिँदै उनले अब बन्ने योजनाले स्थानीय तहलाई ध्यान दिनुपर्ने बताए । कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदीले बजेटको कार्यान्वनमा ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगले ११ खर्बको बजेट सीमामा रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाएको छ । बैठकमा अर्थमन्त्रीले आफ्ना अधिकारीहरुलाई निर्देशन दिदैं, नीतिगत रूपमा राजनीतिज्ञहरुलाई सही बाटोमा डोर्याउन सचिवहरुलाई निर्देशन दिए । मन्त्रीपरिषद् बैठकमा आफूले कर्मचारीले साथ दिएनन् भन्ने गुनासो सुन्ने गरेको उल्लेख गर्दे मन्त्री महराले नीतिगत रूपमा राजनीतिज्ञहरुलाई ट्रयाकमा ल्याउन सचिवहरुलाई प्रभावकारी भूमिका खेल्न सचेत बनाएका थिए ।
बजेटसम्बन्धी समीक्षा गोष्ठीमा मन्त्री महराले विद्यमान नीति नियमका आधारमा बिना प्रभाव र दबाब काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
बजेट तर्जुमाका समयमा मन्त्रालयका सचिवहरु मन्त्री तथा राजनीतिक दलको प्रभावमा पर्ने गरेको तर्फ इंगित गर्दै उनले डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काम नगर्न पनि सचिवहरुलाई सचेत समेत गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित