FLASH NEWS
  • Loading...

अन्यौलमा सरकार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

  •  चुनाव सार्न पाइँदैन–एमाले
  •  चुनाव फिर्ता लिनुपर्छ– मधेसी मोर्चा
    काठमाडौं– प्रमुख प्रतिपक्ष दल एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अडानको विच सरकार परेको छ ।
    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छुट्टाछुट्टै बैठकमा एमालेले ३१ वैशाखका लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नहुने अडान लिईरहेको छ भने मधेसी मोर्चाले भने निर्वाचनको कार्यक्रम फिर्ता लिनुपर्नेलगायत चार बुँदे माग अघि सारेपछि सरकार अन्यौलमा परेको हो ।
    बुधबार एमालेभन्दा केही समयअघि मात्र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । भेटमा मोर्चाले सरकार गठन भएताका भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, निर्वाचनको कार्यक्रम फिर्ता लिनुपर्ने, मोर्चा गठबन्धनले भनेको परिमार्जनको आधारमा संविधान संशोधन हुनुपर्ने, त्यसअनुरूप केन्द्रीय निर्वाचन प्रदेश निर्वाचन प्रदेश मातहत स्थानीय निर्वाचन गर्नुपर्ने माग राखेको छ ।
    त्यस्तै बैठकमा मोर्चाले सप्तरीमा भएको हत्या हिंसाको छानबिन हुनुपर्ने, मृतकलाई सहिद घोषणा, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायत माग पूरा नभए आन्दोलनमा जाने चेतावनी सरकारलाई दिएको छ ।
    मधेसी मोर्चाले प्रधानमन्त्री दाहाललाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी गराएको छ । यसअघि सोमबार बसेको मोर्चाको बैठकले नै सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने बताए पनि मंगलबार बसेको बैठकले भने हतारमा समर्थन फिर्ता नगर्ने निर्णय गरेको थियो ।
    अर्को तिर प्रमुख विपक्षी दल नेकपा एमालेले बुधबार नै प्रधानमन्त्री दाहाललाई भेटेर सप्तरी घटनाबारे छानबिन गर्न माग गरेको छ । विपक्षी दलको मेची–महाकाली अभियान बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ४ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले बुधबार कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् ।
    भेटमा एमाले नेताहरुले प्रधानमन्त्री दाहाललाई चुनाव यताउता नगर्न सुझाव दिएको छ ।
    भेटमा प्रधानमन्त्री दाहालले एमालेलाई मेची–महाकाली महाभियानबारे पुनर्विचार गर्न सुझाव दिएका छन् । तर, एमालेले अभियानलाई अघि बढाउने नै भन्यो भने सरकारले सुरक्षाको प्रबन्ध गर्ने वाचा गरेको बताइएको छ । तर, प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर २÷४ रोक्न उपयुक्त हुने बताएका छन् ।
    भेटमा प्रधानमन्त्री दाहालले सप्तरी घटनाले बन्दै गएको सहमतिको वातावरण पनि बिग्रन खोजेको भन्दै गम्भीर हुन एमालेको ध्यानाकर्षण गराएका थिए । लगत्तै एमाले अध्यक्ष केपी ओलीले सरकारले सुरक्षा दिन नसकेकोप्रति दुःख व्यक्त गरे । भेटमा आक्रोशित हुँदै अध्यक्ष ओलीले प्रश्न गरे, ‘एउटै देशभित्र स्वतन्त्र रुपमा कार्यक्रम पनि गर्न नपाउने कस्तो लोकतन्त्र हो ?’
    उनले मधेसी मोर्चाले एमालेको अभियानमा अवरोध गरेर आङ्खनो राजनीतिक चरित्र उदांगो पारेकोसमेत आरोप लगाएका छन् । बैठकमा कांग्रेस सभापति देउवाले ओलीलाई सप्तरी घटना दुःखद भएको भन्दै अब यस्ता खाले घटना दोहोरिन नदिन गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
    यसअघि बुधबार नै तीन दलको बैठक बसेको थियो । बैठकमा सप्तरी घटनापछि उत्पन्न राजनीतिक परिस्थितिकै बारेमा केन्द्रीत भएको भएको अरु राजनीतिक एजेण्डामा छलफलले खासै प्रवेश नपाएको कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए ।
    बैठकपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेका नेता कार्यकर्ता देशकै एउटा भागमा पनि कार्यक्रम गर्न जान नपाउनु ? भन्दै आक्रोश व्यक्त गरे ।
    उनले अहिले मोर्चाले मात्रै त्यस्तो निषेधको राजनीति गरेको आरोप लगाउँदै अगाडि भने, ‘के त्यस्तो भन्ने मोर्चाका कार्यकर्ता मात्र हुन् ? भोलि अरुले पनि त्यस्तो नभन्लान् भन्न सकिन्न । नेवार, थारुहट, मगरजस्ता क्षेत्रमा पनि त्यो लागू हुन सक्छ ।’ उनले मोर्चाले देखाएको जस्तो चरित्र रोक्न सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । यस्तै उनले मेचीकाली अभियान नरोकिने बताउँदै भने, ‘हाम्रो मेची महाकाली अभियान अघि बढ्छ, हामी फेरि तराई जान्छौँ र त्यसको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।’
    २१ फागुनदेखि झापाबाट एमालेले मेची–महाकाली अभियान सुरु गरेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित भएको एमालेको मेची–महाकाली अभियान बिहीबारबाट हेटौँडादेखि पुनः सुरु गर्दै छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित