FLASH NEWS
  • Loading...

नवलपुरको ४९ ठाउँमा एमालेको घरदैलो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


कावासोती, २७ फागुन । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत प्रदेश नं ४ को नवलपुरमा बुधबार ४९ ठाउँमा घरदैलो कार्यक्रम भएको छ । एमाले नेताहरु संविधान कार्यान्वयन र चुनावको एजेन्डा लिएर घरदैलोमा पुगेका हुन् ।

अभियानअन्तर्गत फागुन २८ गते नवलपुर क्षेत्रको कावासोतीमा आमसभा हुने भएकाले एमाले नेताहरु घरदैलोमा खटेको एमालेका केन्द्रीय सदस्य तिलक महतले जानकारी दिनुभयो । घरदैलोमा नै एमाले नेत्रीहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । सांसद एवम् पूर्वमन्त्री नरदेवी पुनले अमरापुरी, केन्द्रीय सदस्य पदमा अर्यालले कुमारवर्ती, मना केसी, राधा महत, सीमा क्षेत्रीलगायत नेत्रीको अगुवाइमा नवलपुरको २२ ठाउँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।

एमाले नेता एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी प्रगतिनगरमा, लम्जुङका सांसद जमिन्द्रमान घले शिवमन्दिरमा, सांसद नरबहादुर थापा दुम्किबास, म्याम्दीका सांसद नवराज शर्मा वेणीमनीपुर, डा भीष्म अधिकारी प्रगतिनगर र सांसद मुक्ति पाठक प्रसौनीको घरदैलोमा खटिनुभएको छ ।

एक समन्वयकर्ता सहितको टोली पनि रहेको छ । टोलीले संविधान कार्यान्वयन र चुनाव, राष्ट्रिय स्वाभिमान र स्वाधीनता, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धिका लागि सामाजिक तथा आर्थिक रुपान्तरण र विकासका एजेन्डा, समृद्ध तराई–मधेस निर्माण, नेकपा (एमाले)का बारे फैलिएको भ्रम चिर्ने काम गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलाका विकासका योजना र एमालेको सुखी नेपाली समृद्ध नेपाल बनाउने ३५ वर्षीय योजनाका बारेमा समेत नागरिकलाई जानकारी गराइएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित