FLASH NEWS
  • Loading...

होटेल व्यवसायप्रति आकर्षण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


धनगढी, २७ फागुन । पर्यटन व्यवसायको पूर्वाधारका रुपमा लिइने होटेल व्यवसायप्रति यहाँ आकर्षण बढ्न थालेको छ । होटेल व्यवसायमा बढेको आकर्षणसँगै यस क्षेत्रमा आधुनिक र सुविधा सम्पन्न होटेल निर्माण हुने क्रम पनि बढेको छ ।
यस क्रममा धनगढीको गोदावरी रोड छेउमा निर्माण पूरा भएको ‘होटेल फ्लोरा‘ बिहीबारदेखि सञ्चालनमा आएको छ ।
पश्चिम नेपालकै सुविधा सम्पन्न र अत्याधुनिक थोरै होटलमध्येको एक यो होटेलको निर्माण लागत जग्गाको मूल्यसहित झन्डै रु २१ करोड रहेको होटेलका प्रबन्ध निर्देशक पुष्पराज कुँवरले बताउनुभयो ।

सुविधायुक्त ३४ कोठा रहेको यो होटेलमा तालिम र सेमिनार हलसमेत रहेका छन् । निकट भविष्यमा स्वीमिङ पुल, चिल्डे«न पार्क, साउना बाथ, मल्टी जिम लगायतका सेवा सुविधासमेत थपिन लागिएको कुँवरले बताउनुभयो ।

बिहीबार स्वामी लोकानन्दले एक समारोहकाबीच होटेलको उद्घाटन गर्नुभयो । यस क्षेत्रमा करोडौंको लागतमा निर्माण भएका अत्याधुनिक र सुविधा सम्पन्न होटेल डिभोटी, होटेल रुबस, होटेल दिनेश, साथी होटेल, होटेल जलासालगायत होटेल विगत दश÷बाह्र वर्षदेखि सञ्चालनमा छन् ।

यी होटेलको निर्माण र सञ्चालनमा रु एक अर्ब भन्दा बढी लगानी भएको छ । यीमध्ये केही होटेलले तारे होटेलको हैसियत राख्ने गरेको बताइन्छ । यी होटेलले प्रदान गर्ने सेवा सुविधा पनि प्रतिस्पर्धी हुँदै गएको देखिएको छ ।

बढ्दो सहरीकरणसँगै सुदूरपश्चिमको ‘हब‘ को रुपमा विकास हुन थालेको धनगढीमा पर्यटक र अन्य व्यवसायी पहिलेको तुलनामा भित्रिने क्रम बढ्दै गएको अवस्थामा उचित वासस्थानको सुविधा प्रदान गर्ने सोचका साथ एकपछि अर्को गर्दै नयाँ÷नयां आधुनिक होटेल सञ्चालनमा आउन थालेका हुन् ।
खासगरी धनगढी—काठमाडौँ दैनिक नियमित हवाई सेवाको सुविधापछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेसँगै यस क्षेत्रमा होटेल व्यवसायप्रति आकर्षण बढेको देखिन्छ ।

यद्यपि, अपेक्षित रुपमा पर्यटक भित्रिन नसक्दा कतिपय होटेल घाटामा सञ्चालन भइरहेको बताइन्छ । ठूलो लगानी गरेर होटेल सञ्चालन गरेका कतिपय व्यवसायी अपेक्षित आम्दानी कहिले होला भनेर पर्खेर बसेको अवस्था रहेको होटेल जलासाका सञ्चालक दीपक थापाले बताउनुभयो ।

एक दशक अघिसम्म सुविधायुक्त होटेल, लज र हलको अभावमा यस क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गोष्ठी, सेमिनार, सभा, सम्मेलन गर्न निकै कठिनाइ हुने गरेकामा ठूला र सुविधा सम्पन्न होटेलको सञ्चालनसँगै हाल यस्ता गोष्ठी समेत आयोजना हुन थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित