FLASH NEWS
  • Loading...

रोजगारमूलक र गुणस्तरीय शिक्षामा प्रधानमन्त्रीको जोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १११ पटक पढिएको
रोजगारमूलक र गुणस्तरीय शिक्षामा प्रधानमन्त्रीको जोड


काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा नै विकास र समृद्धिको आधार भएको हुँदा रोजगारमूलक र गुणस्तरीय शिक्षामा जोड दिइनुपर्ने बताउनुभएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतको छैटौँ साधारणसभाको बैठकलाई यहाँ आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले विकासलाई शिक्षासँग नजोड्ने र शिक्षालाई विकाससँग नजोड्ने हो भने शिक्षा प्रणाली केवल शिक्षित बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बन्न जानेछ भन्नुभयो ।

सो विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले समग्र शिक्षा प्रणालीलाई संरचनागत रुपमा बदल्नुपर्ने भन्दै मुलुकमा रहेका स्रोत साधनको प्रयोग र परिचालन गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान गरी जडीबुटी प्रशोधन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको हुँदा त्यसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो मुख्य रणनीतिमा राखेर कार्य रूप दिनुपर्ने आवश्यक छ भन्नुभयो ।

शिक्षामन्त्री धनीराम पौडेलले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आगामी दिनमा प्राविधिक उच्च शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । बैठकमा सहभागीले विश्वविद्यालयमा आङ्गिक क्याम्पसका रूपको पारित गरिएका क्याम्पसलाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित