FLASH NEWS
  • Loading...

एसइईको परिक्षा आजबाट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


भक्तपुर—संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु  भएको छ ।
बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, १ हजार ९ सय २३ केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले बताए ।
विगतका वर्षमा एसएलसी परीक्षाका रूपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो ।
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पु¥याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रहसमेत गरे ।
परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अंग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित