FLASH NEWS
  • Loading...

निर्वाचनप्रति मतदाताको आकर्षण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई यहाँका मतदातादाले निकै उत्सुकतापूर्वक लिन थालेका छन् ।

झन्डै दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसकी कर्मचारीको भरमा यी निकायको काम हुँदा यो अवधिमा जनताका गुनासा एवम् समस्याको उचितरुपमा सम्बोधन नभएको र दशकौँ पछि गरिएको नयाँ संरचना अनुसारको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको निर्वाचन हुन लागेकाले पनि मतदाताले यो चुनावलाई निकै उत्सुकतापूर्वक हेरेका हुन् ।
अब निर्वाचित हुने गाउँपालिका, नगरपालिका र उपहानगरपालिकाका जनप्रतिनिधिको अधिकार साविकको गाविस, नपा, उपमहानगरपालिकामा चुनिएर आउने प्रतिनिधिभन्दा बढी हुने भएकाले पनि मतदाताले बढी चासो राख्न थालेको स्थानीय धर्म ओझाले बताउनुभयो ।

निर्वाचनको तयारी भइरहँदा यहाँ राजनीतिक कार्यकर्ताबीच चुनावमा कुन दलको उम्मेदवार विजयी हुनसक्छ भन्नेबारे चुनावी जोड घटाउ पनि हुन थालेको छ ।

चुनावी जोड घटाउको चर्चा परिचर्चासँगै बजार क्षेत्रका चोक र चिया पसलमा दलका नेता कार्यकर्ता आआफ्नो दलका उम्मेदवार विजयी हुने दाबी गरिरहेका भेटिन्छन् ।

नयाँ संरचनाअनुसार कैलाली जिल्लाका सबै छ गाउँपालिका, छ नगरपालिका र एक उपमहानगरपालिका (धनगढी)को निर्वाचन हुन लागेको भए पनि खासगरी धनगढी उपमहानगरपालिकाको नेतृत्वमा कुन दलको को व्यक्ति चुनिएर आउने भन्ने विषयले चुनावी चर्चामा बढी प्राथमिकता पाउन थालेको छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा धनगढी सहर रहेकाले पनि यस उपमहानगरको नेतृत्व हत्याउन आउने स्थानीय तहको निर्वाचनमा प्रमुख दलको प्रतिष्ठाको विषय बन्न सक्ने देखिएको छ ।

फलस्वरुप यति बेला नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),राप्रपालगायतका पार्टीमा उपहानगरको प्रमुख कसलाई बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा भित्रभित्रै तयारी भइरहेको छ ।

काँग्रेसका तर्फबाट आगामी चुनावमा धनगढी उपमहानगरको प्रमुखमा नृप ओड, कृष्णबहादुर महरा, उत्तमबहादुर कठायत, रीता भण्डारी, सुशीला मिश्र भट्ट, नारायण भट्टमध्ये एक जनाले टिकट पाउन सक्ने चर्चा सुनिन्छ । यस्तै नेकपा (एमाले)को तर्फबाट उपमहानगरको प्रमुखमा रणबहादुर चन्द, रामचन्द्र जोशी, जयराज जोशी, दुर्गा जोशी, नन्दलाल जोशीलगायतको नाम चर्चामा रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट भने युवा नेता रमेश धामीको नाम बजारमा बढी चर्चामा छ । राप्रपाको तर्फबाट रोम स्वाँर, जनक कुँवर, गजेन्द्रबहादुर सिंहलगायतको नाम चर्चामा छ ।

विसं २०४६ को परिवर्तनपछि दुई पटक भएको साविक धनगढी नगरपालिकाको निर्वाचनको प्रमुखमा पहिलो पटक काँग्रेस र दोस्रो पटक एमालेका उम्मेदवार विजयी भएका थिए ।

मतदाता अब हुने निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने शिक्षित र लोकप्रिय व्यक्तिले मात्रै निर्वाचन जित्न सक्ने अड्कलबाजी गरिरहेका छन् ।

अबका निर्वाचनमा जनताका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई चुनाव जिताउनु पर्छ भन्ने मनसाय आफ्नो रहेको स्थानीय चेतराज जोशीले बताउनुभयो ।

निर्वाचनतर्फ यस क्षेत्रका मतदाताको उत्सुकता बढिरहेका बेला मधेसी दलले राख्दै आएको असन्तुष्टिले स्थानीय तहको चुनाव सम्पन्न गर्न केही चुनौती देखिन सक्ने कतिपयको भनाइ छ ।

अधिकांश दलले चुनावमा भाग लिइरहँदा मधेसी दलको विरोधले केही चुनौती देखिन सक्ने भए पनि मधेसी मतदाता स्वयम् चुनावको विपक्षमा जान नसक्ने स्थानीय रमणचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

नयाँ संरचना अनुसार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, टीकापुर नपा, लम्कीचुहा नपा, गौरीगङ्गा नपा, घोडाघोडी नपा, भजनी नपा, गोदावरी नपा र चुरे गाउँपालिका, जोशीपुर गापा, कैलारी गापा, जानकी गापा, बर्दगोरिया गापा, मोहन्याल गापामा स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

निर्वाचनको तयारी

निर्वाचनको तयारीको सिलसिलामा निर्वाचन कार्यालयले कैलाली जिल्लामा मतदानस्थलको पुर्नरावलोकनको काम सकेको छ । संरचना परिवर्तन भएको कारण साविकका निर्वाचनका बेला कायम भएका निर्वाचनस्थलभन्दा अब हुने निर्वाचनमा केही बढी निर्वाचन स्थल तोक्नु पर्ने देखिएको छ ।

साविकमा जिल्लामा २१७ मतदानस्थल रहेकोमा आगामी स्थानीय तहको निर्वाचनमा २३२ वटा मतदानस्थल हुनसक्ने देखिए पनि टुङ्गो लगाउन बाँकी रहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित