FLASH NEWS
  • Loading...

छाडा पशु चौपायाबाट सास्ती

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


छाडा पशु चौपायाका कारण नेपालगन्ज उपमहानगरपालिका दिनप्रतिदिन कुरुप बन्दै गइरहेको छ । सवारी दुर्घटनामा समेत वृद्धि भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका घोषणा भएको करिब दुई वर्ष वित्नै लागेको छ । नगरका छाडा पशु व्यवस्थित गर्न नसक्दा सडक छेउछाउका व्यापारी, सवारी चालक, पैदल यात्रुमात्रै होइनन् रिक्सा र टाँगा चालकलाई पनि सास्ती व्यहोर्नुपरेको छ ।

“छाडा पशु चौपायका कारण पैदल हिँड्न समस्या भएको छ”, नेपालगन्ज–१३ का जानकी थापाले भन्नुभयो – “छाडा पशुका कारण नेपालगन्ज सहरकै सौन्दर्य बिग्रिरहेको छ ।”

पैदल यात्रुलाई मात्रै होइन नेपालगन्ज कोहलपुर सडकखण्डमा सवारी साधन चलाउने चालकलाईसमेत छाडा पशुले सताउने गरेका छन् । “बीचबाटोमै आएर सुत्दिन्छन्, सधैँजसो सवारी दुर्घटनाको खतरा रहन्छ,” कोहलपुर–नेपालगन्ज सडकखण्डमा माइक्रोबस चलाउँदै आउनुभएका जनक चौधरीले भन्नुभयो – “न प्रहरीले हटाएको देख्छु, न नगरपालिकाले नै ।”

छाडा पशु चौपायाका कारण सडक छेउमा फलफूल र तरकारी पसल सन्चालन गर्दै आएका व्यापारीले सास्ती झेल्नुपरेको छ । नेपालगन्जमा विगत छ वर्षदेखि ठेलामा तरकारी बेच्दै आउनुभएका लालुदेवी विष्ट छाडा पशुले तरकारी खाइदिँदा दैनिक घाटा व्यहोर्नु परिरहेको बताउनुहुन्छ ।

चोक–चोकमा तथा सडक छेउमा व्यापार गर्ने व्यापारी छाडा पशु चौपायाका कारण हैरानी व्यहोर्न बाध्य छन् । “नेपालगन्ज उपमहानगरपालिका भइसकेपछि हामीले थप सुन्दर होला भनेर सोचेका थियौँ”, नेपालगन्ज– १ धम्बोजीका सरिता अधिकारीले भन्नुभयो – “पशुचौपायाका गोबरका कारण सहर दुर्गन्धित हुँदै गइरहेको छ ।”

छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायको तर्फबाट कानुन व्यवसायीले नेपालगन्ज उपमहानगरपालिकामा निवेदन दर्तासमेत गराएका छन् । अधिवक्ताहरु गणेशमान केसी, वसन्त गौतम र सुनिता शर्माले संयुक्त रुपमा निवेदन दर्ता गराएका थिए । तर अहिलेसम्म सुनवाई हुन नसकेको अधिवक्ता शर्माले बताउनुभयो ।

छाडा पशु चौपाया छोड्नेलाई कारबाही गर्न नसक्नु र छाडा छोडिएका पशुलाई व्यवस्थित गर्न नसक्नु उपमहानगरपालिकाको गैरजिम्मेवार काम भएको सर्वसाधारणको आरोप छ । तर नेपालगन्ज उपमहानगरपालिकाले भने व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको दाबी गरेको छ । सो उपमहानगरपालिकाका निरीक्षण उपशाखा प्रमुख पवनकुमार कनोजिया नगरमा छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले सहकार्य गर्दैआएको बताउनुहुन्छ ।

कान्जी हाउसमा राख्न ठाउँ नभएपछि नेपालगन्जदेखि १०० किलोमिटर टाढाको दाङमा पर्ने जङ्गलमा अघिल्लोपटक छवटा ट्रकमा र अहिले दुईवटा ट्रकमा छाडा पशु चौपाया लगेर छाडेको कनोजियाले बताउनुभयो । “व्यवस्थापन गर्न निकै गाह्रो भएको छ,” उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित