FLASH NEWS
  • Loading...

नक्कली कार्ड प्रयोग गरी अर्काको रकम निकाल्ने गिरोह पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—काठमाडौंको सिटी सेन्टरमा रहेको अडिडास सोरुमको स्विप मेसिनबाट प्रत्येक दिन १० लाख र उपत्यकास्थित विभिन्न क्यासिनोमा रहेका स्विप मेसिनबाट प्रत्येक दिन ५० लाखसम्म निकाल्ने योजना उनीहरुले बनाएका थिए ।
उनीहरु आफु सफल हुनेमा पूर्ण विश्वास पनि थिए । तर महानगरीय अपराध महाशाखाले उनीहरुको त्यो सपनालाई चैत ६ गते विश्राम लगाएको छ । ‘क्लोन मेगनाटिक कार्ड’ प्रयोग गरी अर्काको बैंक खातामा रहेको रकम निकाल्ने गिरोहका आठ जनालाई राजधानीका विभिन्न स्थानबाट चैत ६ गते प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ बस्ने दोलखा भीमेश्वर नगरपालिकाका सुरेश केसी, बानेश्वर बस्ने भारत लखनऊका सूचनाप्रविधि इन्जिनियर अभिषेक पाण्डे, क्षेत्रपाटी बस्ने भारत नयाँ दिल्लीका नदिम खान, ललितपुर उपमहानगरपालिका कुसुन्तीका केवलप्रताप जबरा, ललितपुर मंगलबजार बस्ने काभ्रे मेच्छेका विजय लामा दोङ, क्षेत्रपाटीका अनुज नकर्मी, अभिषेक नकर्मी र रोमन महर्जन रहेका छन् ।
महानगरीय अपराध महाशाखाले मंगलबार महाशाखामा आयोजना गरेको पत्रकारसम्मेलनमा उनीहरुलाई सार्वजनिक गर्दै वरिष्ठ उपरीक्षक दिनेश अमात्यले ठगीमा नयाँ प्रयोग देखिएको बताए ।
उनीहरुले अहिलेको नयाँ प्रविधीलाई प्रयोग गरि ठगी गर्ने नयाँ नयाँ योजना तयार गर्दै ठग्ने गरेका थिए । वरिष्ठ उपरीक्षक अमात्यले भने, ‘उनीहरुले विभिन्न अनलाइनमा २० देखि पाँच सय डलरसम्म तिरेर अर्काको एटिएम कार्डलगायत विद्युतीय कार्डको नम्बर र पिन नम्बर पत्ता लगाउने गरेका थिए । नक्कली कार्डमा सोही नम्बर हालेर पैसा निकाल्ने गरेका रहेछन् ।’
काठमाडौं मात्र होईन् यी ठगहरुको गिरोहले भारतमा समेत ठगी गर्दै आएको देखिएको उनले बताए । काठमाडौं लगायत भारतका ठूला व्यवसाय सञ्चालनमा रहेका ‘पोइन्ट अफ सेल मेसिन’बाट विद्युतीय कार्डहरु डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्लाङक कार्डको कीर्ते गरी करोडौं रकम चोरी गर्ने कार्यमा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।
हालसम्म उनीहरुले नयाँ दिल्लीको चारवटा कपडा पसलबाट २ वर्षअघि भारतीय रुपैयाँ ३ लाख, २ वर्षअघि कास्की पोखरास्थित टीका रिसोर्टबाट २ करोड, एक वर्षअघि काठमाडौं क्षेत्रपाटीस्थित डी सोभिनियरबाट ३० लाख, नौ महिनाअघि काठमाडौंका चावहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, तीन महिनाअघि भक्तपुरस्थित पौरानिक थान्का तथा मालाबाट ४५ लाख र पछिल्लो समय १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख निकालेको खुल्न आएको छ ।
साथै सिटी सेन्टर जस्तो व्यस्त व्यवसायिक केन्द्रमा रहेको अडिडास सोरुमको स्विप मेसिनबाट प्रत्येक दिन पैसा निकाल्ने सोच उनीहरुको रहेको थियो । त्यस्तै उपत्यकास्थित विभिन्न क्यासिनोमा रहेका स्विप मेसिनबाट प्रत्येक दिन ५० लाखसम्म निकाल्ने योजना उनीहरुले बनाएको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी उपरीक्षक विष्णु केसीले सो समूहले व्यापारिक मलमा गएर एकै पटक लाखौंको किनमेल गर्ने र नक्कली कार्डमार्फत अर्काको रकम झिक्ने गरेको तथा त्यहाँका कर्मचारीसँग मिलेमतो गरी रकम लिने गरेको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी गराएको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित