FLASH NEWS
  • Loading...

जिब्रो छेड्न बुद्धकृष्ण तयार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


भक्तपुर, १७ चैत । मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ । जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार हुनुभएको हो ।

उहाँले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसक्नुभएको छ । २०६६ सालमा घरमा श्रीमती सुत्केरी भएपछि उहाँले जिब्रो नछेड्ने घोषणा गर्नुभएको थियो । त्यसपछि जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेड्दै आइरहनुभएको थियो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आइरहनु भएका जुजुभाइले यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरेसँगै जात्राका लागि जिब्रो छेड्ने व्यक्तिको खोजी सुरु भएको थियो ।

जात्रा नै रोकिने अवस्था आएकाले आफूले पुनः जिब्रो छेड्ने निर्णय लिएको बुद्धकृष्णले बताउनुभयो । बोडेको जात्रामा बोडेबासीमध्ये पनि यहाँका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नु पर्ने परम्परा रहेको छ । जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउनुहुन्छ । जात्राका लागि मध्यपुर थिमि नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन् ।

जात्रा प्रत्येक वर्षको वैशाख २ गते बिहान हुने गर्दछ । स्थानीय पाचोबाट सुरु हुने जात्रा बोडेका विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित