FLASH NEWS
  • Loading...

शीतभण्डार निर्माण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

डडेल्धुरा, १८ चैत । अमरगढी नगरपालिका– १ दहमा अत्याधुनिक प्रविधिको शीतभण्डार निर्माण भइरहेको छ ।

कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि उक्त शीतभण्डार निर्माण गरिन लागेको हो । नयाँ प्रविधिसहितको निर्माण गरिन लागेको उग्रतारा शीतभण्डारको क्षमता एकहजार मेट्रिक टन रहेको छ ।

नेपाल सरकार साना तथा मझौला आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान र जिल्ला उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा शीतभण्डार निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो । रु आठ करोडको लागतमा निर्माण भइरहेको उक्त शीतभण्डारमा करिब दश हजार क्विन्टल आलुको बीउ राख्न सकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

शीतभण्डार निर्माण भएपछि करिब नौसय घरधुरी लाभान्वित हुने छन् भने ५० देखि ६० जनाले रोजगार समेत पाउने भट्ट बताउनुहुन्छ । दुई वर्षदेखि निर्माणाधिन सो शीतभण्डार अबको तीन महिनापछि सञ्चालनमा आउने उग्रतारा कोल्डस्टोर प्रालिले जनाएको छ ।

सोह्र लाख राजस्व सङ्कलन

यसैगरी चालु आवको हालसम्ममा जिल्लामा राहदानी वितरणबाट रु १६ लाख १० हजार राजस्व सङ्कलन भएको छ ।

चालु आवको साउनदेखि हालसम्ममा जिल्ला प्रशासन कार्यालयबाट साधारण राहदानी लिनेको सङ्ख्या तीन सय २२ जना रहेको राहदानी फाँटका सुब्बा धनबहादुर खडायतले जानकारी दिनुभयो । द्रूत सेवाका लागि सिफारिस लिनेको सङ्ख्या चार सय १९ जना रहेको छ ।

गत आवमा राहदानी लिनेको सङ्ख्या नियमिततर्फ सात सय ५२ जना र द्रूततर्फ सात सय ६८ जना रहेको थियो । अध्ययन तथा भ्रमणका लागि विदेश देश जानेहरुले द्रूत सेवामार्फत राहदानी बनाउने गरेका छन् । द्रूत सेवाको प्रयोग गरी विभागबाटै सेवाग्राहीले एकै दिनमा राहदानी लिन रु १५ हजार राजस्व बुझाउनुपर्छ । त्यसैगरी रु १२ हजार राजस्व बुझाएमा दुई दिनमै तथा रु १० हजार राजस्व बुझाएमा तीन दिनमा राहदानी पाइने सुब्बा खडायतले बताउनुभयो ।

जिल्लामा साधारण राहदानीको लागि आवेदन फारम बुझाउने व्यक्तिले रु पाँच हजार राजस्व बुझाउनुपर्छ । राहदानी हराएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले रु १० हजार राजस्व लिई उपलब्ध गराउने गरेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित