FLASH NEWS
  • Loading...

दलहरु चुनावमा होमिए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

बागलुङ, २४ चैत । चुनाव लक्ष्यित कार्यक्रम लिएर दलहरु गाउँ पसेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा दलहरुको आन्तरिक तयारी तीव्र बनेको छ ।

सङ्गठन निर्माण, उम्मेदवार छनोट र प्रचारप्रसारमा दलहरु व्यस्त छन् । नगर, गाउँ हुँदै वडासम्म चुनावी सरगर्मी बढेको छ । आ–आफ्ना मुद्दा मतदातालाई बुझाउँदै जनमत बटुल्ने योजनामा दलहरु छन् ।

जिल्लाको सिङ्गो पार्टीपङ्क्ति चुनावमा होमिएको नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले बताउनुभयो । कार्यकर्ता र आममतदातालाई चुनावप्रति जागरुक बनाइएको उहाँको भनाइ छ । “सबै स्थानीय तह र वडासम्मै कार्यालय स्थापना गर्ने काम भइरहेको छ,” सभापति थापाले भन्नुभयो – “घरदैलो र प्रचारप्रसारमा पनि हामी जुटेका छौँ ।” उम्मेदवार छनोटको गृहकार्य पनि चलिरहेको नेका बागलुङले जनाएको छ ।

आगामी वैशाख ५ गतेभित्र सम्भावित उम्मेदवारको सूची केन्द्रमा पठाउने तयारीमा काँग्रेस छ । नेकपा ९एमाले०ले पनि नगरदेखि वडा र टोलसम्मै निर्वाचन परिचालन समिति बनाएर आन्तरिक तयारीमा जुटेको छ । घरदैलो, भेटघाट र प्रचारको काम अघि बढेको एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो । “उम्मेदवार छनोटको कामलाई पनि टुङ्गोमा पु¥याउँदैछौँ” – अध्यक्ष सापकोटाले भन्नुभयो ।

यही चैत ३० गतेभित्र वडाका उम्मेदवार छनोटको काम सक्ने उहाँको भनाइ छ । वडाको उम्मेदवार जिल्ला तहमा टुङ्गो लागे पनि गाउँ र नगरपालिकाका उम्मेदवार भने प्रदेशले छनोट गर्नेछ । गाउँ र नगरका सम्भावित उम्मदवारको सूची आउँदो वैशाख ४ गतेभित्रै प्रदेशमा सिफारिस गरिने एमाले बागलुङले जनाएको छ । यता, तेस्रो ठूलो दल नेकपा ९माओवादी केन्द्र० पनि चुनावी कार्यक्रमसहित गाउँ दौडाहामा निस्केको छ ।

वैशाख ५ गतेभित्र सबै वडा, गाउँ र नगर समितिको सम्मेलन सकिसक्ने केन्द्रका बागलुङ इञ्चार्ज चन्द्रबहादुर बुढाले बताउनुभयो । “पार्टी निर्माणको अभियानमा हामी एकताबद्ध ढङ्गले लागेका छौँ,” इञ्चार्ज बुढाले भन्नुभयो – “चुनाव जित्ने गरी आन्तरिक कामलाई व्यवस्थित गर्दैछौँ ।” सदस्यता वृद्धिको कामलाई पनि सँगैसँगै अघि बढाइएको केन्द्रले जनाएको छ ।

आउँदो वैशाख ७ गतेभित्र वडा, गाउँ र नगरपालिकामा उठ्ने उम्मेदवारको टुङ्गो लगाइने इञ्चार्ज बुढाको भनाइ छ । राष्ट्रिय जनमोर्चाले पनि आफ्नो आन्तरिक तयारीलाई तीव्र पारेको छ । आन्तरिक भेला, प्रचारप्रसार र उम्मेदवार छनोटको काम सँगसँगै भइरहेको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताउनुभयो । मतदाताको मन जित्ने गरी प्रचारात्मक कार्यक्रमलाई वडा तहसम्म लगिने उहाँको भनाइ छ ।

“चुनावी तयारीमै छौँ, उम्मेदवार छान्ने काम करिब पूरा भएको छ,” अध्यक्ष थापाले भन्नुभयो – “वडाका उम्मेदवार स्थानीय समन्वय समितिले नै छनोट गर्छ । गाउँ र नगरपालिकाका मुख्य उम्मेदवार जिल्लाले छानेर केन्द्रमा सिफारिस गर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले चुनावलाई केन्द्रित गरेर ‘राप्रपा जनताको माझ’ नामक अभियान नै थालेको छ । पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न अभियानले सघाउने राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले बताउनुभयो ।

“घरदैलो, भेटघाट र सदस्यता वृद्धिलाई मुख्य रुपमा अघि बढाएका छौँ” – अध्यक्ष खड्काले भन्नुभयो । उहाँका अनुसार वडाका उम्मेदवार स्थानीय रुपमै छनोट हुनेछन् । गाउँ र नगरपालिकाका प्रमुख पदहरुमा लड्ने उम्मेदवार भने जिल्लाले छनोट गरेर सफारिस गर्नेछ । अन्य दलहरु पनि चुनावी योजना बनाएर अघि बढेका छन् । आन्तरिक तयारीलाई व्यवस्थित गर्दै चुनावमा जुटेको ती दलहरुले बताएका छन् ।

निर्वाचन प्रयोजनका लागि जिल्लामा १४ दल दर्ता छन् । दर्ता भएका दलमा सङ्घीय समाजवादी फोरम, नेकपा ९माले०, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा ९एमाले०, राष्ट्रिय शिवसेना पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९माओवादी केन्द्र०, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र अखण्ड नेपाल पार्टी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित