FLASH NEWS
  • Loading...

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २५ चैत । काठमाडौँ उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा बहुतले भवन निर्माणको स्वीकृति दिइएकामा व्यवस्थापिका–संसद्को आजको बैठकमा आपत्ति जनाइएको छ ।

संसद्को बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले उपत्यकावासीले खुला स्थान कायम राख्ने लक्ष्यका साथ बसपार्क बनाउन दिइएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको धारणा व्यक्त गर्नुभयो । उहाँले काठमाडौँको खुला स्थानमा सरकारी निकाय र जग्गा दलालले मनपरी तवरले व्यक्तिको नाममा दर्ता गराएको भन्दै एकाध वर्षमा यहाँ खुला स्थान नै नपाइने अवस्था सिर्जना हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रधानले खुला स्थानको अतिक्रमण नरोकिए काठमाडौँ उपत्यका सांसदले सार्वजनिक रुपमा नै प्रतिरोध गर्ने पनि बनाउनुभयो । सांसद भीम आचार्यले १२ हजार बढी कोसी बाँध पीडितलाई तत्काल वासस्थान र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद डा सुबोध पोखरेलले सप्तरीमा पछिल्लो दिनमा जङ्गली हात्तीको अतिक्रमणले जनधनको क्षति भएको भन्दै हात्ती नियन्त्रण र उचित क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद सिपी मैनालीले सबै दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन नदिइने मनसायका साथ निर्वाचन चिह्न नै नदिने प्रवृत्ति गलत रहेको भन्दै विद्यामान कानुनी व्यवस्था हटाउन आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले मुलुकको हितका लागि सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विश्वेन्द्र पासवान, हरिचरण साह, गङ्गा चौधरीले संविधानको भावना विपरीत गएर सरकारले साना दललाई निर्वाचनमा भाग लिन नदिने उद्देश्यका साथ गतिविधि गरेको र निर्वाचन चिह्न नदिने काम गरेको गुनासो गर्नुभयो ।

सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्त नगरिनु संविधानको मर्म र भावना विपरीत भएको उल्लेख गर्नुभयो । उहाँले आयोगको कार्यक्षेत्रबाट हटाइएको अनुचित कार्यसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउन र पारित गर्नसमेत आग्रह गर्नुभयो । सांसदहरु अञ्जना ताम्ली, वीरबहादुर बलायरले असिनापानी पीडित जनतालाई राहत दिन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित