FLASH NEWS
  • Loading...

जनआन्दोलनले सफलता पाएको दिन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


काठमाडौंँ, २६ चैत । आज अर्थात् चैत २६ गते । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनले सफलता पाएको दिन । सत्ताइस वर्षअघि आजकै दिनले २०१७ साल पुस १ गते अपहरण भएको नेपाली जनताको नागरिक हक पुनःस्थापनाका निम्ति सफलता पाएको थियो ।

सर्वोच्च नेता गणेशमान सिंहले ३० वर्ष पञ्चायती व्यवस्था अन्त्य गर्न नेपाली काँग्रेसले वामपन्थीसित मिलेर जनआन्दोलन गर्ने निष्कर्ष निकाल्नुभयो र त्यसैको फलस्वरूप सातवटा वामपन्थी पार्टी मिलेर संयुक्त वाममोर्चा बनेको थियो । सर्वोच्च नेता सिंहको मार्गचित्र र नेतृत्वअनुरूप नै २०४६ साल फागुन ७ गतेदेखि सर्वोच्च कमान्डर गणेशमान सिंहले नेतृत्व गर्नुभएको जनआन्दोलनले अन्ततः आजैको दिन सफलता प्राप्त गरेको थियो ।

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई जनआन्दोलनको गन्तव्य मानेर आरम्भ गरिएको आन्दोलन चैतको तेस्रो सातामा उत्कर्षमा पुग्योे । चैत २३ र २४ गते राजधानीलगायत ठाउँमा निषेधाज्ञा जारी गरियो । तत्कालीन प्रधानमन्त्री मरीचमान सिंहको राजीनामा आएपछि पञ्चायती व्यवस्था गल्यो । सँगसँगै आन्दोलनकारी र राजाबीच संवादको बाटो खुल्यो ।

आन्दोलनकारीका तर्फबाट नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला अनि संयुक्त वाममोर्चाका तर्फबाट अध्यक्ष सहाना प्रधान र राधाकृष्ण मैनालीले दरबारमा राजा वीरेन्द्रसँग गरेको प्रत्यक्ष संवादले पञ्चायती संविधानबाट दलविहीन हटाउने निष्कर्ष निकाल्यो । तत्कालै शाही घोषणा भयो ।

शाही घोषणबाट हटेको दलविहीन शब्द नै नयाँ युगको प्रस्थान बिन्दु बन्यो । त्यही नै छयालीस सालको जनआन्दोलनको पहिलो उपलब्धि भयो । युग फेरियो । राजा वीरेन्द्रले जनआन्दोलनका सर्वोच्च नेता सिंहलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा उहाँले पार्टी सभापति कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्नुभयो । नेता भट्टराईको नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली काँगेस, वाममोर्चा, राजाका प्रतिनिधि र स्वतन्त्र वुद्धिजीवी सबै अटाए । एकै वर्षभित्र संविधान बनेर आमनिर्वाचन पनि सम्भव भयो । यो दिनलाई जनआन्दोलन भाग १ का नामले पनि चिनिन्छ । यसै दिनको सम्झनामा देशभर विविध कार्यक्रम गरिन्छ । छयालीस सालको जनआन्दोलनको सम्झनामा शान्ति वाटिकामा बिहान ८ बजे कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेसका नेता एवं तत्कालीन क्रियाशील नेता तीर्थराम डङ्गोलले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित