FLASH NEWS
  • Loading...

असुरक्षित तरिकाले गर्भपतन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


इलाम, २८ चैत । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् ।

इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्याग्रस्त बनेर अस्पताल आउने गरेको बताउनुभयो । सुरक्षित गर्भपतन सेवा निःशुल्क भइसके पनि सेवाग्राही असुरक्षित र अनैतिक तरिकाले गर्भधारण गरेपछि समाजको डर–त्रासका कारण कतिपयले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेका छन् ।

अघिल्लो वर्ष मात्रै असुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता निम्तिएपछि ९१ जनाले अस्पतालबाट सेवा लिएका थिए । “धेरैले पहिले औषधि किनेको ठाउँ भन्न चाहँदैनन्”, इलाम अस्पतालकी स्टाफ नर्स सबिना श्रेष्ठले भन्नुभयो, “जटिल अवस्थामा पुगेपछि दुःख पाइयो भनेर आउने धेरै छन् ।” जिल्लाका फिक्कल, मङ्गलबारे, प्याङ प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पतालका साथै जिल्लाको केही स्वास्थ्य चौकी गरी १५ ठाउँबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेको छ ।
दश हजार जनाले गरे स्वास्थ्य बीमा

इलाममा छ महिनाको अवधिमा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका हुन् ।

सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाका अनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८, झापाका अस्पतालबाट पाँच सय ८५ र काठमाडौँका अस्पतालबाट १५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् । जिल्लामा गत असार १५ बाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

प्रबन्धक सापकोटाका अनुसार साँखेजुङ, सोयाङ, सोयाक, जोगमाई, पञ्चकन्या, मङ्गलबारे, इरौटार, दानाबारी, साकफाराजस्ता साबिकका गाविसमा दर्ता सहयोगी नभएर बीमा कार्यक्रम सञ्चालन भएको छैन । बीमा दर्ता सहयोगी नभएर काम नभएको ठाउँमा स्थानीय तहको निर्वाचनपछि तत्कालै सुरु गर्ने सापकोटाले जानकारी दिनुभयोे । एक वर्षअघि बीमा कार्यक्रम सुरु हुँदा एक सय ६८ प्रकारका औषधि सेवामा समेटिएको थियो तर अहिले बढाएर पाँच सय ३० प्रकारका औषधि सेवामा रहेका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित