FLASH NEWS
  • Loading...

गिद्धमा रेडियोकलर जडान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


चितवन, १ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा हुर्किरहेका छवटा पोथी गिद्ध प्रकृतिमा छाड्नु अघि तिनीहरुको शरीरमा रेडियोकलर जडान गर्ने काम सम्पन्न भएको छ । यस अतिरिक्त अध्ययनका लागि नवलपरासीको जटायु रेष्टुराँ क्षेत्रमा प्रकृतिमा रहेका छवटै गिद्धलाई रेडियो कलर जडानपछि बुधबार प्रकृतिमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका गिद्धलाई पनि भोलि वैशाख २ गते जटायु रेष्टुराँमा बनाइएको खोरमा राखेर केही समयपछि प्रकृतिमा छाडिँदै छ । जटायु रेष्टुराँ व्यवस्थापन गर्दै आउनुभएका डिबी चौधरीका अनुसार बुधबार बिहान ६ वटा प्रकृतिका गिद्धलाई नियन्त्रणमा लिएर ढाडमा रेडियोकलर र पखेटामा ट्याग जडान गरी साँझ प्रकृतिमा छाडिएको हो ।

पक्षी संरक्षण सङ्घ नेपाल र रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बड्र्सका प्रविधिज्ञहरुले गिद्धमा रेडियोकलर जडान गरेको चौधरीले बताउनुभयो । रेडियोकलर जडान भएका गिद्धको अवस्थाका बारेमा बुधबार साँझदेखि रेकर्ड लिएर अध्ययन थालिएको छ ।

चितवनबाट लैजाने छवटा गिद्धका लागि प्रकृतिमा छाड्नुअघि राख्न जालीको खोरसहित आवश्यक निर्माणका काम सम्पन्न भइसकेको पक्षी संरक्षण सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रमानबाबु प्रधानले बताउनुभयो ।

वैशाख २ गते सबेरै चितवन राष्ट्रिय निकुञ्जमा रेडियोकलर जडान गरेका गिद्धलाई लगिने उहाँले बताउनुभयो । ती दुवै थरिका गिद्धको अध्ययन गरिने र अवस्थाको नियमित जानकारी लिइने छ ।

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमै पहिलोपटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो । निकुञ्जको कार्यालय कसरामा यस वर्ष कोरलेका नौवटा बच्चासहित ५६ वटा गिद्ध रहेका छन् ।

सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको छ । यद्यपि, ढिला गरी सन् २०१६ मा छाड्ने भनिएका छवटा गिद्ध वैशाख २ गते छाड्न लागिएको हो । सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चार÷चारवटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित