FLASH NEWS
  • Loading...

उम्मेदवारको टुङ्गो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

धनगढी, २ वैशाख । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ ।

सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि चौधरीले बताउनुभयो ।

यस्तै कैलारी गाउँपालिका प्रमुखमा लाधुराम चौधरी, बर्दगोरिया गाउँपालिका प्रमुखमा गणेश गिरी र जानकीनगर गाउँपालिकाको प्रमुखमा फूलराम चौधरीलाई उठाइने छ ।

जिल्लाका अन्य स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा भने टुङ्गो लगाउन बाँकी रहेको चौधरीले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपालगायत दलले अहिलेसम्म कैलालीका स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाउन सकेका छ्रैनन् ।

काँग्रेसबाट धनगढी उपमहानगरपालिका प्रमुखमा युवा नेता कृष्णबहादुर महरा र नगर सभापति नृप ओड, नेकपा (एमाले)बाट दीपकप्रसाद देवकोटा, रणबहादुर चन्द र नारदमुनि राना, राप्रपाका तर्फबाट रोम स्वाँर, राजेश भण्डारी, पुष्करदत्त भट्ट र जनककुमारी कुँवरको नाम बढी चर्चामा छ ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा आकाङ्क्षी बढी देखिएपछि उम्मेदवार छनोट गर्न दललाई सकस परेको छ । उम्मेदवारका आकाङ्क्षीले टिकट हत्याउन आआफ्ना पक्षमा भित्रभित्रै सम्पर्क गर्न थालेका छन् ।

नयाँ संरचनानुसार कैलालीमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नपा, गौरीगङ्गा नपा, भजनी नपा, घोडाघोडी नपा, गोदावरी नपा र जोशीपुर गाउँपालिका, चुरे गापा, कैलारी गापा, मोहन्याल गापा, बर्दगोरिया गापा र जानकी गापा गरी १३ स्थानीय तहमा निर्वाचन हुन लागेको छ ।

सात नं प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी मतदाता(तीन लाख ९४ हजार ३२ मतदाता) भएको कैलालीमा वर्षायाममा नदी कटान, डुबान, उचित सडक, खानेपानी, विद्युत्, कृषिका लागि सिँचाइलगायत पूर्वाधारको ठूलो समस्या छ । सोबाहे मुक्तकमैया पुनःस्थापना, सुकुम्बासीको बसोबास पनि ठूलो समस्याका रुपमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित