FLASH NEWS
  • Loading...

एमाले एकताबद्ध भएर निर्वाचनमा जाने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ५ वैशाख । नेकपा (एमाले)का शीर्षनेताहरुले पार्टी सिङ्गो एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने उद्घोष गर्नुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीद्वारा आयोजित केन्द्रीय सम्पर्क भेलामा उहाँहरुले पार्टी एक भएर गए मात्र निर्वाचन जित्न सकिने बताउँदै एकताबद्ध भएर निर्वाचनमा जाने बताउनुभयो । सो अवसरमा पार्टीका कावा अध्यक्ष वामदेव गौतमले एक भएर पार्टी निर्वाचनमा लाग्नाको विकल्प छैन भन्दै स्थानीय तहको निर्वाचनपछि देशमा नयाँ युगको थालनी हुने बताउनुभयो । पार्टी उपाध्यक्ष गौतमले अहिलेको संविधान संशोधन प्रस्तावका एउटा बुँदा पनि पारित गर्न नदिइने बताउँदै देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता जोगाउन पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनका बेला पार्टी एकताबद्ध भएर लागे निर्वाचन जितिने धारणा राख्नुभयो । “सिङ्गो पार्टी एकताबद्ध भएर लागे मात्र विजय प्राप्त गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पार्टीको आन्तरिक एकता हुनुपर्छ ।” पूर्वप्रधानमन्त्री खनालले देशको स्वतन्त्र, सार्वभौमसत्ता र अखण्डता जोगाउनका लागि एमाले बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

एमालेका नेता माधवकुमार नेपालले पार्टीमा रहेका मतभेद हटाई निर्वाचनमा सबै एक भएर लाग्नाको विकल्प नभएको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन निर्धारित समयमा हुनुपर्ने तर निर्वाचन हुन नसकेका ठाउँमा अर्को चरणमा गर्न सकिने धारणा राख्नुभयो । उहाँले निर्वाचन हुन नदिनका लागि षड्यन्त्र भइरहेको बताउँदै त्यसलाई चिर्दै निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

पार्टी महासचिव ईश्वर पोखरेलले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेकाले त्यसप्रति सजग हुनुपर्छ भन्नुभयो । कार्यक्रममा नयाँ शक्ति नेपाल केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईसहित सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य गणेश घिमिरे र दीर्घराज भट्टलगायत एमालेमा प्रवेश गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित