FLASH NEWS
  • Loading...

बाँदरका कारण कृषक समस्यामा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


पोखरा, १४ वैशाख । दैनिक जीविकोपार्जनका साथै आयआर्जनसमेतको उद्देश्य राखी खेतबारीमा तरकारी तथा खाद्यान्न बाली लगाउने कास्कीका अधिकांश कृषकलाई बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।

बाली लगाउँदादेखि नै बाँदरले जमिनमुनि लगाएको बीउसमेत खोस्रिएर खाइदिन थालेपछि कृषक थप समस्यामा परेका हुन् । अघिल्लो वर्ष फलेका मकै जोगाउन नसकेका कृषकलाई यस वर्ष मकै लगाउना साथ खोस्रिएर बीउसमेत खाइदिन थालेका कारण फल्न थालेपछि भने कसरी जोगाउने भन्ने चिन्ता थपिएको हो ।

बाँदरले दुःख दिएपछि नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला वन कार्यालय धाउने गरे पनि समस्यालाई सम्बन्धित निकायबाट अत्यन्त सामान्य रुपमा लिइदिने गरेको कृषकको दुःखेसो छ ।

बाँदरले पटकपटक दुःख दिएका कारण यसको नियन्त्रण एवम् व्यवस्थापनका लागि कृषि तथा वन कार्यालयमा उजुरी दिए पनि त्यसको सुनुवाइ हुन नसकेको पुम्दीका कृषक खेमराज बराल बताउनुहुन्छ ।

“दुःख गरेर लगाएको बाली बाँदरका कारण भित्र्याउन त परै जाओस् घरघरमा बाँदर पसेर पकाएको खाना पनि खाइदिन थालेका छन्,” उहाँले भन्नुभयो । कृषि कार्यालयमा जाँदा जिम्मेवार अधिकारी नै वरिपरि फलफूल लगाइदिनुहोस् त्यही फलफूल खाएर बाँदर भुल्छन् नी जस्ता जवाफ दिएर फर्काउने गरेका उहाँले बताउनुभयो । “बाँदरको प्रभाव कम गर्न वरपरका रुख काट्न वन कार्यालयबाट कृषकले अनुमति नपाउने गरेका कारण पनि समस्या थपिएको छ,” बरालले भन्नुभयो ।

बाँदरकै कारण कास्कीको पुम्दीभुम्दी, भरतपोखरीलगायतका स्थानमा खेती गर्दै आएका कृषक आफ्नो व्यवसायको विकल्पको खोजीमा छन् । पछिल्ला वर्षमा बाँदरले गाउँमा आतङ्कित पार्नुका साथै घरभित्र थन्क्याएका खाद्यान्न खाइदिने, मानिसलाई आक्रमण गर्न आउनेजस्ता समस्या बढिरहेको छ । वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने संरक्षित जनावरका रुपमा सूचीकृत गरेको छ ।

राज्यले अन्य विभिन्न प्रकोपका कारण बालीनालीमा क्षति भएमा कृषकलाई राहत दिने गरे पनि बाँदरका कारण पीडित किसानले अहिलेसम्म कुनै राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । बाँदरका कारण कृषकले पुम्दी तथा आसपासका क्षेत्रमा मकै तथा गहुँजस्ता बाली लगाउन छोडेका कृषक प्रेमनाथ बरालले बताउनुभयो ।

पुम्दीमा अहिले पनि लगभग एक हजार ५०० को सङ्ख्यामा बाँदरको हुलले आतङ्कित बनाएको छ । बाँदरले गाउँ÷गाउँमा आतङ्कित बनाएपछि राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीले यसको व्यवस्थापनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन समेत दर्ता गरेको छ । तर त्यसको सुनुवाइ हुन सकेको छैन ।

बाँदरका कारण कास्कीको भरतपोखरी, आँगेटारीलगायतका कृषक पनि लामो समयदेखि मारमा परिरहेको कालिका मावि भरतपोखरीका शिक्षक शिवप्रसाद पौडेलले बताउनुभयो । कृषकले पाएको पीडालाई राज्यले उचित सम्बोधन गर्नु आवश्यक रहेको बताउँदै उहाँले बाँदर नियन्त्रण एवम् व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाभित्र विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको कार्यालय प्रमुख लोकेन्द्र बोहोराले बताउनुभयो । बाँदरको नियन्त्रणका लागि कार्यालयले बाँदर धपाउने मेसिनको परीक्षण गर्ने तयारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “आवाज दिएर बाँदर धपाउने मेसिन आइसकेको छ, चाँडै नै त्यसको परीक्षण गरी प्रभावकारी भएमा त्यसलाई जिल्लाभित्र प्रयोगमा ल्याउन सकिन्छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित