FLASH NEWS
  • Loading...

डेढ शताब्दीपछि चियाको अध्ययन !

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


इलाम, १७ जेठ । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ ।

राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो । एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले फिक्कलस्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ ।

आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिने तथ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताउनुभयो । नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण सङ्कलन गरिने छ । रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था, बिक्री मूल्य, र आयात निर्यातसम्बन्धी अध्ययन गरिने उहाँले बताउनुभयो ।

चियाखेतीसम्बन्धी सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले उक्त सर्भेक्षण थालिएको तथ्याङ्क विभागका अधिकृत गणेशप्रसाद फुयालले बताउनुभयो ।

तत्कालीन इलामका वडाहाकिम गजराजसिंह थापाले इलाम बगानमा विसं १९२० मा चियाको बिरुवा रोप्नुभएको थियो । अहिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका साथै अन्य जिल्लामा समेत चियाको व्यावसायिक खेती गरिँदै आएको छ । अहिले चियाखेतीमा साना ठूला गरी ३० हजार किसान संलग्न छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित