FLASH NEWS
  • Loading...

स्वतन्त्र न्यायपालिकाको निर्णय हामीलाई मान्य छ –एमाले

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले जे निर्णय गरेपनि उक्त निर्णयलाई आफ्नो पार्टीले स्विकार गर्ने र भोलि हुने प्रधानमन्त्री चयन प्रक्रियामा संसद अवरोध नगर्ने बताएका हुन् । उनले भने, ‘चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ, त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मत र मन पनि च्यातिएका छन् ।’
उनले मंगलबार हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले भाग लिने जनाएका छन् । यद्धपी उनले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा आफ्नो दलले मत हाल्ने बताए । उनले भने, ‘हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर देउवाजीको विपक्षमा मत हाल्छौं ।’ त्यस्तै उनले आफ्नो पार्टी अहिले सरकारमा जाने मनस्थितिमा पनि नरहेको जानकारी गराए ।
रावलले चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी कांग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरे । उनले भने, ‘मतपत्र च्यात्ने काम गरेर उहाँहरुले कु–चक्रमा देशलाई अघि बढाउन खोज्नुभयो, यसले लोकतान्त्रिक व्यवस्थालाई आँच पुगेको छ।’
त्यस्तै उनले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीयतहको निर्वाचन शान्तिपूर्ण र भयरहित हुन ध्यानाकर्षण समेत गरे । उनले भने, ‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’उनले जनताको मतको कदर सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए ।
उनले गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको निर्वाचन पनि चुनौतीका वीच नै सम्पन्न भएको उल्लेख गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले निर्वाचनको मुखमा आएर वर्तमान सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटकपटक सार्ने काम गरेको भन्दै गुनासे पोखे । उनले भने,‘सरकारले अन्योलपूर्ण वातावरण बनाउनु हुँदैन ।’
रावलले आफ्नो पार्टी जहिले पनि राष्ट्रको हितका लागि सहमति गर्न तयार रहेको स्पष्ट पारे । यद्धपी उनले वर्तमान सरकारको क्रियाकलाप ठीक नभएकाले प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्ने जनाए । उनले भने,‘यो सरकारलाई हाम्रो समर्थन हुँदैन्।’ त्यस्तै उनले अहिले संविधान संशोधन, स्थानीयतहको संख्या हेरफेर हुननसक्ने समेत जिकिर गरे।
नेकपामाओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले मंगलबार प्रधानमन्त्री निर्वाचनमा नेकपा (एमाले)ले सदनअवरोध नगर्ने विश्वास व्यक्त गरे ।
नेता रायमाझीले कांग्रेसँग भएको सहमतिअनुसार नै माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारबाट राजीनामा दिएको बताउँदै सरकारमा जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताए । उनले प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवा अत्याधिक मतका साथ विजयी हुने समेत स्पष्ट पारे ।
उनले संविधान कार्यान्वयनको लागि आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकोले सबै दल जानुपर्ने बताए । उनले सकेसम्म सहमतीय सरकार गठन गर्दा राम्रो हुने विश्वास व्यक्त गरे । उनले भने, ‘राजपालाई नै चुनावमा सहभागी गराउनको लागि सरकारले पटक पटकचुनावको मिति सारेको हो, त्यसैले राजपाले अब आफ्नो एजेण्डा जनतामा लैजानको लागि चुनावमा भागलिनु नै उत्तम हुन्छ ।’
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले यथास्थितिमा आफूहरु दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताए । उनले भने, ‘हाम्रा मागहरु सम्बोधन नभए सम्म हामी निर्वाचनमा भाग लिँदैनौं, चुनावको वातावरण बनाउनको लागि पनि हाम्रा मागहरु सम्बोधन गर्नुपर्छ।’उनले राजपा नेपाल लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएकोले आफूहरु निर्वाचनको विरोधी नभएको जिकिर गरे।
सरकारसँग भएका वार्ता तथा सम्वाद सकारात्मक दिशामा अगाडि बढेको भन्दै यसको लिखित सम्झौता आए , प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रधानमन्त्रीलाई मतदान गर्ने बताए । उनले भने, ‘राजपा लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको हो निर्वाचन विरोधी शक्ति होइन, हामीले राखेका मागलाई उचित सम्बोधन गरे हामी निर्वाचनमा जान्छौँ ।’ यादवले प्रधानमन्त्रीलाई सहयोग गर्ने वा नगर्ने स्थानीयतहको निर्वाचनमा जाने वा नजाने भन्नेबारे राजपा भित्र कुनै विवाद नरहेको स्पष्ट पारे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित