FLASH NEWS
  • Loading...

जिउमा पन्ध्र किलो सिक्का बोकेर विश्व भ्रमणमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

पर्वत- जेठ । दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आइपुग्नुभएको छ ।

विगत छ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आइपुग्नुभएको हो । २०६९ मङ्सिर २१ गतेदेखि भ्रमण थाल्नुभएका परियारले नेपालका ७५ जिल्लाको दुईपटक भ्रमण पूरा गर्नुभएको छ ।

बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका परियारले १७ वर्षभित्र विश्वभ्रमण गरिसक्ने योजनासाथ आफू यात्रामा निस्किएको बताउनुभयो । सिक्का बाबाले शान्ति, स्थिरता र संविधानको पूर्ण कार्यान्वयनसँगै तोकिएकै मितिमा तीनवटै तहको चुनाव सम्पन्न गर्न र यातायात सेवाको विकासका लागि दबाबको सन्देश दिन विश्व भ्रमण सुरु गरेको बताउनुभयो ।

उहाँले जिउमा लगाएका लुगा र टोपीमा २०६ देशका सिक्का टाँसिएका छन् । सिक्का टाँसेको कपडा लगाएको सपना पटकपटक देखेपछि विश्वभ्रमण गर्ने योजना आएको उहाँले सुनाउनुभयो ।

परियारले अगाडि र पछाडि दुवैतिरबाट लगाउन मिल्ने १९ वटा कपडाको टुक्राबाट बनाएको कमिज तथा पेन्ट लगाउनुभएको छ । नेपाल आएका पर्यटकसँग मागेर विदेशी सिक्का जम्मा गरेका परियारले नेपाली सिक्का भने आफैँले किन्नुभएको छ ।

सुरुमा ट्रेकिङ तथा नेपाल प्रहरीमा तीन वर्षसम्म जुत्ता सिलाउने पेसा गरेका र सो पेसा छाडेर शान्ति भ्रमणमा निस्किएका परियारले नेपाललाई विश्वभर चिनाउने बताउनुभयो ।

अविवाहित सिक्का बाबाले सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसायी तथा व्यक्तिको आर्थिक सहयोगमा भ्रमण खर्च जुटाउनुभएको छ । उहाँले सरकारले नेपालबाहेक अन्य मुलुकमा जानका लागि आफूलाई रोक लगाएका कारण विश्व भ्रमणमा निस्किन नपाएको बताउनुभयो । “मैले नेपालको दुईपटक भ्रमण गरिसकँे, सरकारले फुकुवा गर्ने बित्तिकै सुरुमा भारत भ्रमणमा जान्छु, उहाँले भन्नुभयो ।”

परियारले आफूलाई प्रत्येक जिल्लामा जाँदा सुरक्षा र खान बस्नको व्यवस्था प्रहरी प्रशासनले मिलाउँदै आएको पनि बताउनुभयो । मुलुक राजनीतिक अस्थिरताका कारण पछाडि पर्दै गएको बताउँदै दिगो शान्ति र राजनीतिक स्थायित्व दिनका लागि शीर्ष दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको यात्रा सुरु गरेको र लगत्तै डोल्पा र जुम्ला जाने तयारी रहेको समेत जानकारी दिनुभएको छ ।

उहाँले आफ्नो शरिरमा टाँसिएका मुद्राको रुपैयाँमा हिसाब नगरिदिन पनि आग्रह गर्नुभयो । आफूलाई सुरक्षा चुनौती बढ्ने भएकाले रुपैयाँमा मुल्यांकन नगरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित