FLASH NEWS
  • Loading...

इन्धनको मुल्य घट्दा सार्वजनिक गाडीको भाडा नघट्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


काठमाडौं–इन्धनको मुल्य घटेपनि सार्वजनिक गाडीको भाडा भने कम नहुने भएको छ ।
पेट्रोलियम पदार्थको भाउ पाँचभन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धति अनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे भने, ‘सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन, अन्य सूचकको मूल्य अहिले घटेको छैन, पेट्रोलियम पदार्थको भाउ पनि एक दशमलव ५० मात्र घटेको हो ।’
नेपाल आयल निगमलले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो । पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर एक दशमलव ५० घटाइएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय बनाइएको छ । यसअघि पेट्रोलको मूल्य १०१ दशमलव ५० थियो ।
डिजेल र मट्टितेलको मूल्य पनि एक दशमलव ५० पैसाले घटेर ७६ कायम भएको छ । यसअघि पनि पटक पटक पेट्रोलियम पदार्थको भाउ घट्दा पनि सार्वजनिक यातायातको भाडा घटेको छैन । पछिल्लो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७२ माघ २४ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । त्यसबेला घटाएको भाडासमेत कार्यान्वयनमा नआएको उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेलले बताए ।
उनले भने,‘सरकारले गरेको भाडा समायोजनअनुसार चार किमीसम्म १३ भाडा हुनुपर्छ, तर उपत्यकामै यो भाडादर कायम हुन सकेको छैन, बढी भाडा लिनेलाई नियमन गर्नुपर्ने यातायात व्यवस्था विभागले समेत यसतर्फ ध्यान दिन सकेको छैन, २०७२ माघपछि पनि धेरैपटक पेट्रोलियम पदार्थको भाउ घटेको छ, तर सार्वजनिक यातायातको भाडा घटेन ।’
सरकारले २०७२ साल माघमा सार्वजनिक यात्रुवाहक सवारीतर्फ दुई दशमलव ५३, सार्वजनिक मालवाहक सवारीसाधन तराइमा तीन दशमलव ७६ र पहाडमा तीन दशमलव २८ प्रतिशत भाडा घटाएको थियो । यसैगरी, मिटर जडित ट्याक्सी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटकीय सवारीसाधनको भाडा एक दशमलव ६५ प्रतिशतले घटाएको थियो ।
वैज्ञानिक भाडा पद्धति भनेको पेट्रोलियम पदार्थको भाउ बढ्दा तत्काल सार्वजनिक यातायातको भाडा बढ्ने र घट्दा वर्षौंसम्म पनि नघट्ने प्रणाली भन्ने बुझ्नुपर्ने अवस्था आएको उपभोक्ता अधिकारवादीको गुनासो छ ।
सार्वजनिक यातायातको विकृतिविरुद्ध लागिपरेका भक्तपुरका रामबहादुर थापा सरकारी संयन्त्र यातायात व्यवसायीबाट प्रभावित भएकाले पेट्रोलियम पदार्थको भाउ घटबढ भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन हुन नसकेको अनुभव सुनाए । यसरी सार्वजनिक यातायातको भाडा नघट्दा आम नागरिक मर्कामा पर्ने देखिन्छ । भाडा समायोजन भएपनि लागू नगर्ने यातायात व्यवसायीलाई भने सरकारलेनै भाडा घटाउन नपर्ने भनेपछि उनीहरु खुसी देखिन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित