FLASH NEWS
  • Loading...

उपत्यकामा कहाँ, कति, कति बजेट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३१ पटक पढिएको
Post Thumbnail

ललितपुर मनपाको ३ अर्ब २३ करोड बजेट प्रस्ताव

ललितपुर—ललितपुर महानगरपालिकाले आव २०७४÷७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ ।
शनिबार आयोजना भएको ‘आर्थिक वर्ष २०७४÷७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको जानकारी गराए ।

चालूतर्फ ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ ।
परिषद्ले आन्तरिक आय १ अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट १ अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट ६ करोड आय हुने अनुमान गरिएको छ ।
गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो ।
उनले सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको बताए । उनले दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको जानकारी गराए । बजेटले बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उनले बताए ।
श्रम तथा रोजगार मन्त्री फरमुल्हा मन्सुरले जनताको विकासको चाहना धेरै भएकोले उनले सबै दललाई समेटेर अघि बढ्नुपर्ने धारणा राख्दै प्रदेश नं २ को निर्वाचन असोजमै गर्ने सरकारको तयारी भैरहेको बताए ।
ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख बेखामान शाक्यले जनताको करको सदुपयोग गरेर काम गर्नुपर्नेमा जोड दिए । महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले कतिपय कार्यक्रम उपमहानगरपालिका हुँदादेखि शुरु भएका र कतिपय नयाँ भएको जानकारी गराए ।

भक्तपुरको बजेट एक अर्ब

भक्तपुर—भक्तपुर नगरपालिकाले प्रथम नगर परिषद्बाट आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ५ करोड ५५ लाखको बजेट पारित गरेको छ ।
शनिबार नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत नगर प्रमुख सुनिल प्रजापतिले पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिएका थिए ।
बजेट आम्दानीतर्फ सरकारबाट सःशर्त अनुदान १९ करोड ७८ लाख ९५ हजार, निःशर्त अनुदान १७ करोड ८७ लाख ९५ हजार, सामाजिक सुरक्षा भत्ता ११ करोड ८ लाख र अन्य निकायतर्फ ६० लाख गरी कूल ४९ करोड ३४ लाख ९० हजार रहने प्रजापतिले जानकारी गराएका छन् ।
त्यस्तै नगरका बासिन्दाबाट संकलन हुने विभिन्न कर तथा पर्यटन सेवा शुल्कसमेत गरी ४२ करोड २० लाख १० हजार आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य राखेको छ । नगरपालिकाको मौज्दात बाँकी १४ करोड रहने अनुमान गरिएको छ । नगरपालिकाले वडास्तरीय विकास निर्माणका लागि प्रत्येक वडा कार्यालयलाई ५० लाखका दरले रकम वितरण गर्ने भएको छ ।

यस्तै हनुमन्ते र खासाङ्खुसी खोला सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउने, हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने, जनप्रतिनिधि घर–घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न, प्रत्येक वडामा शिशु स्याहार केन्द्रहरु सञ्चालन गर्ने, नगरपालिकाद्वारा सञ्चालित विद्यालयका शिक्षिका र आयाहरुलाई तालिम दिने भएको छ ।

सूर्यविनायकको बजेट ४८ करोड


सूर्यविनायक—सूर्यविनायक नगरपालिकाले प्रथम नगर परिषद्बाट आव २०७४÷७५ का लागि पारित भएको ४८ करोड १० लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।
सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले प्रथम नगर परिषद्बाट आव २०७४÷७५ का लागि पारिते ४८ करोड १० लाख २८ हजारको बजेट सार्वजनिक गरेका छन् । सरकारबाट निःशर्त २४ करोड ७७ लाख ५० हजार, सःशर्त १४ करोड ८४ लाख २८ हजार प्राप्त हुने र नगरपालिकाको आन्तरिक आयस्रोतबाट ८ करोड ४८ लाख ५० हजारको बजेट उनले सार्वजनिक गरे । नगरपालिकाले नगरक्षेत्रमा रहेका औद्योगिक क्षेत्रको विकास गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, वडा कार्यालयलाई राजमार्गस“ग जोड्ने सडकको स्तरोन्नति गर्ने, पर्यटन पदमार्ग निर्माण गर्ने, भ्यू टावर निर्माण गर्ने तथा स्मार्ट सिटी बनाउनेलगायत कार्यक्रम सञ्चालन गर्ने उनले बताए । उनले वडाको विकासका लागि प्रत्येक वडा कार्यालयलाई एक करोडका दरले रकम पठाउने निर्णय भएकोसमेत जानकारी गराए ।

महालक्ष्मी नपाको बजेट ४० करोड २५ लाख

 


महालक्ष्मी—महालक्ष्मी नगरपालिकाले आव २०७४÷७५ का लागि आन्तरिक र बाह्य गरेर कुल ४० करोड २५ लाख २८ हजारको बजेट प्रस्ताव गरेको छ ।
शनिबार आयोजना भएको प्रथम नगरसभाको बजेट, योजना, तथा नीति सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले चालू खर्च ७ करोड ४४ लाख ५० हजार र पूँजिगततर्फ २२ करोड ४३ लाख ४४ हजार प्रस्ताव गरिएको जानकारी गराए ।
आन्तरिक आयतर्फ नौ करोड ४८ लाख ५० हजार रहेको छ । नगरपालिकाले सार्वजनिक निर्माणमा १० करोड ९५ लाख ८४ हजार विनियोजन गरेको छ जसमा वडास्तरीय कार्यक्रमका लागि ७ करोड ५० लाख र नगरस्तरीय कार्यक्रमका लागि ३ करोड ४५ लाख ८४ हजार विनियोजन गरेको छ ।
नगर प्रमुख श्रेष्ठले आगामी पाँच वर्षमा नगरपालिका र वडा कार्यालयको भवन निर्माणमा जोड दिइने बताए । उनले सडकको निर्माण, रंगशाला, सभागृह, पर्यटन पूर्वाधारलगायतका विकासमा पनि जोड दिने बताए । उनले यस क्षेत्रलाई कृषिको पकेट क्षेत्र बनाउने, प्रविधिको प्रयोग बढाउने, संस्कृति संरक्षणलगायतका क्षेत्रमा कार्यक्रम रहेको जानकारी गराए ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले अहिले जनप्रतिनिधि मात्रै नभएर स्थानीय तहमा नै सरकार पाएको बताए । उनले भने, ‘हिजो केन्द्रमा मात्रै सरकार थियो भने नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा सरकारको प्रत्याभूति गर्न सकिनेछ ।’ कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा नगरपालिकाले गुरुयोजना बनाएर लागू गर्नुपर्नेमा उनको जोड थियो ।
अध्यक्ष ओलीले पछाडि परेका समुदायलाई अघि बढाउने कार्यक्रम लागू गर्नुपर्ने बताए । प्रमुख, उपप्रमुखलगायत नगरपालिका र वडाका पदाधिकारीले सबैसँगको सहकार्यमा विकासको योजना बनाउने र लागू गर्नुपर्ने आवश्यकता उनले औल्याए । उनले भने, ‘समावेशिता र सहकार्यलाई संयुक्त राष्ट्रसंघले विकास लक्ष्यमा राखेको छ ।’
नगरपालिकाका उपप्रमुख सुशीला थापाले नगरलाई सुन्दर र समृद्ध बनाउँदै लैजान सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित