FLASH NEWS
  • Loading...

चिसो बढेसँगै झापामा डेंगुका बिरामी घट्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail
मंसिर १४, २०७३ दमक : गत असोजदेखि महामारीको रुपमा फैलिएको डेंगु केही नियन्त्रणमा आएको छ। चिसोका कारण बिरामीको संख्या दिनानुदिन घट्दै गएको विभिन्न अस्पतालको तथ्यांकले देखाएको छ। दमकको सरकारी अस्पताल दमक अस्पताल, लाइफलाइन अस्पताल, आम्दा अस्पताल, निम्स इन्टरनेसनल अस्पताल, द-मेडिको हेल्थ केयर सेन्टरमा डेंगुको परीक्षण भइरहेको छ। हाल डेंगु पोजेटिभको संख्या ३ सय ५० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका डेंगु रोग फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए। मंसिर लागेपछि दिनमा सरदर ४ जनालाई मात्र डेंगु देखिएको छ। डेंगुको बिरामीको संख्या घटे पनि नियन्त्रणमा भने आइनसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए। क्युरेटिभ नम्बरका आधारमा ३ सय ५० बिरामीको संख्या पुगे पनि त्यस्तो आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। उनले भने- ‘जाडो लागेसँगै क्रमश बिरामीको संख्या घट्दै गएको छ, आत्तिनुपर्ने अवस्था छैन।’ जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगुका विषयमा धेरै सचेतनात्मक कार्यक्रम गरे पनि यसको नियन्त्रणमा ब्यक्ति आफै सचेत हुनुपर्ने उनको भनाइ छ। दमक अस्पतालमा फलोअप उपचारका लागि आएकी झापा शरणमती शरणामतीकी कृष्णा कोइराला भन्छिन्–‘मलाई डेंगु हुँदा यहाँ आउनेको संख्या अत्याधिक थियो, अहिले दैनिक एक–दुई जना मात्र आउने गरेका छन्।’ उनका अनुसार सुरुमा डेंगु परिक्षणका लागि निशुल्क सेवा नहुदा नीजि अस्पतालबाट डेंगु परीक्षणको किट ८ सय रुपैयाँ हालेर किनेको गुनासो गरिन्। तर अहिले सबै निशुल्क सुविधा विभिन्न अस्पतालले दिन थालेपछि समस्या हटेको बताइन। अझै पनि अस्पतालमा भने यसको सबै औषधी निशुल्क पाईँदैन। दमक अस्पतालका निमित्त प्रमुख नगेन्द्र भट्टराईका अनुसार सरकारले उपलब्ध गराएको लिस्टेड औषधि बाहेक अन्य औषधि बाहिरबाट किन्नु पर्छ। उपचारका लागि पर्याप्त सामाग्रीहरु नरहेपनि डेंगु नियन्त्रणका लागि आफ्नो तर्फबाट सकेसम्म काम गरिरहेको उनको भनाइ छ। जिल्ला जनस्वास्थ्य कार्यालयले हाल दमक अस्पतालमा ल्याबको ब्यवस्थापन गरिदिएको छ भने २ जना कर्मचारी समेत खटाएको छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित