FLASH NEWS
  • Loading...

वीर अस्पतालको आफ्नै फार्मेसी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

नेपालको सबैभन्दा ठूलो र पुरानो अस्पताल वीर अस्पताल भएपनि आजसम्म त्यसको आफ्नो फार्मेसी भने थिएन् । तर बुधबारबाट भने वीर अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए । उनले भने, ‘फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधी खरिद गर्न सक्नेछन् । अहिले उपलब्ध नभएका औषधी बिस्तारै थप गर्दै जानेछौं ।’सरकारी अस्पतालले आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर धेरै अस्पतालले विभिन्न कारण देखाउदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् ।
स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्य रूपमा अस्पताल आफैले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पताललाई अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने बाध्यता सिर्जना भएको छ ।
यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधी किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधी पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो । सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन ।

बिरामीले एउटै औषधीलाई फार्मेसीपिच्छे फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधीलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ ।
मन्त्रालयले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पताल २० र अञ्चल अस्पतालमा १५ लाख बीउ पुजीका रूपमा पठाइसकेको छ ।
यसैगरी जिल्ला अस्पताललाई कुल तीन करोड ४४ लाख फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित