FLASH NEWS
  • Loading...

विश्वकै ठूलो भैरवको मखुन्डो बनाउदै राजकुमार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं—परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन तम्सिएका छन् । नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औं शृंखलामा शाक्यले धातुको पातामा विश्वकै ठुलो भैरवको मूर्ति कुदिने जानकारी गराएका छन् । उनको विश्व्स छ, त्यसले नेपाललाई विश्वमै चिनाउने छ ।
नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउदै उनले भने, ‘नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ ।’ ‘हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।’ उनले भने, ‘नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको छ ।’
परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यस क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरूको संख्या बढ्दै गएको छ । यसले सबैमा यसको पहुच पु¥याउन सहयोग गरेको र आर्थिक विकासमा समेत मद्दत पु¥याएको छ ।
राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउने उनको धारणा छ । उनले भने, ‘अहिले पनि कलाकारलाई अर्डर बमोजिम काम गर्न भ्याइनभ्याई छ । राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नया पुस्ताको आकर्षण र रोजगारी अझै बढ्छ ।’
‘नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छविकालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो, जुन आजसम्म कायम छ’, शाक्यले भने । उनले भुटानमा एक सय २५ फिट अग्लो मूर्ति निर्माण गरिसकेका छन् । उनले नेपालका विभिन्न गुम्बा, स्तूप र मन्दिरमा आफ्नो कलाकृति बनाइसकेका छन् भने भारतलगायत विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पु¥याइसकेका छन् ।
समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उनले जोड दिए । कलाकारले बनाउने कलाले समाजका मानिसमा सकारात्मक प्रभाव पार्नेसमेत उनले बताए ।
नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिवृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्ष शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसकेका छन् । संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालीगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको उनले बताए ।
लिच्छविकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई पुनःजागृत गर्दै नेपाली कला विश्व सामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्यले बताए । नेपाली परम्परागत कला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुदै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको बताए । उनले भने, ‘बाबु बाजेबाट सिक्दै यहासम्म नेपाली कला आएको यसलाई अझ प्रभावकारी रुपमा विकास गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित