FLASH NEWS
  • Loading...

निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनसंगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसंग अपिल गरेका छन् ।
नेपाल टेलिभिजन (एनटिभी) को ३२ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमसंग संविधानको संशोधनसंगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।
उनले संविधान कार्यान्वयनको अत्यन्त महत्वपूर्ण चरणमा मुलुक भएको बताए । उनले भने, ‘संविधानप्रतिको स्वीकार्यतालाई बढाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको छ, संविधान कार्यान्वयनसंगै सिंगो मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।’
उनले २०४१ सालमा परियोजनाको रूपमा स्थापित भई २०४२ सालबाट नियमित प्रसारण सुरू गरेको नेपाल टेलिभिजनले अबका दिनमा सरकार र जनताबीचको पुलको रूपमा काम गर्दै जाने विश्वास व्यक्त गरे ।
उनले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चारमाध्यमको निष्पक्षता, सम्पादकीय स्वतन्त्रताको राज्यले सधैं सम्मान गर्दै आएको जानकारी गराए । टेलिभिजन डिजिटललाइजेसनको सुरुवात गर्दै उनले भने, ‘डिजिटलाइजनसंगै नेपाल टेलिभिजनको गुणस्तरीयतामा समेत विस्तार हुने विश्वास छ ।’
नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको पनि उद्घाटन गर्दै उनले आमजनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपाल टेलिभिजनले खेलेको भूमिकाका ठुलो भएको बताए ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सहर केन्द्रितभन्दा पनि ग्रामीण क्षेत्रका विशेषगरी उत्पीडित समुदायका सवाललाई आम सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिए ।
मुख्यसचिव डा सोमलाल सुवेदीले नेपाल टेलिभिजनले व्यावसायिक प्रतिस्प्रर्धासंगै दुरदराजका मानिसका अनुहारलाई टिभीसम्म ल्याउनुपर्ने सुझाव दिए ।
सञ्चार सचिव महेन्द्रमान गुरूङले आमसञ्चार नीति २०७३ को आधारमा सञ्चार मन्त्रालयले सरकार मातहतका सञ्चार माध्यमको नीति बनाउने तयारी गरिरहेको जानकारी दिए ।
नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष महेश दाहाल र नेपाल पत्रकार महासंघ, टेलिभिजन शाखाका अध्यक्ष शालिक सुवेदीले कर्मचारीको वृद्धि विकासमा जोड दिए ।
वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा ३० वर्ष अवधि पूरा गरेका १२ जना कर्मचारीलाई स्वर्णपदक र २० वर्ष सेवा अवधि पूरा गरेका २६ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।
त्यसैगरी टेलिभिजनका कार्यरत भरत शर्मा (पाल्पा), विधुर खवास (धनकुटा), हिरालाल चौधरी (सिराहा), मन्दिरा थापा (दोलखा) र शिव सिल्वाल (धादिङ) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पा“च हजार रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित